ढलेको रुखका कारण अवरुद्ध सडक महानगर प्रहरीको सक्रियतामा तत्कालै सुचारु

Breaking Nepal

मंगलबार ,असार २ , २०८३ १८:०१

विराटनगर / विराटनगर महानगरपालिका–७ स्थित पुरानो प्रदेशसभा सचिवालय परिसरभित्र रहेको पीपलको रुख मंगलबार दिउँसो अचानक ढलेपछि अवरुद्ध सडक महानगर प्रहरीको सक्रियतामा तत्कालै हटाइएको छ । अस्पताल चोक–देवकोटा चोक सडकखण्ड ढलेको रुखले अवरोध गर्दा करिब एक घण्टा अवरुद्ध भएको थियो । तर महानगर प्रहरीको सक्रियताका कारण धेरै लामो समय सडक अवरुद्ध हुन पाएन ।

दिउँसो करिब १ बजेतिर रुख ढलेपछि उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको थियो । व्यस्त समयमा घटना भए पनि मानवीय तथा भौतिक क्षति भने हुन पाएन ।

रुख उत्तरतर्फ ढलेकाले सडक नै अवरुद्ध बनेको थियो । अवरोध हटाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । महानगर प्रहरीका प्रमुख राजन पौडेलका अनुसार मेसिन प्रयोग गरी रुख काटेर हटाइएपछि सडक पुनः सञ्चालनमा आएको हो ।

पौडेलले रुख पुरानो भई भित्री भाग मक्किएका कारण ढलेको प्रारम्भिक अनुमान गरिएको बताए । उनका अनुसार घटना हुँदा क्षेत्रमा पैदलयात्री र सवारीसाधनको चाप उच्च रहेकाले ठूलो दुर्घटना हुन सक्ने जोखिम रहे पनि कुनै क्षति भएन ।

रुख ढल्दा विद्युत् प्रसारण लाइनमा समेत असर पुगेपछि प्रदेशसभा आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो । विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली परिचालन गरिएको जनाइएको छ ।

स्थानीय प्रशासनले पुराना तथा जोखिमयुक्त रुखको अवस्थाबारे नियमित निरीक्षण र व्यवस्थापन आवश्यक रहेको जनाएको छ ।

रुखले तारमा पनि क्षति गरेपछि प्रदेशसभा आसपासको विद्युत सेवासमेत अवरुद्ध बनेको थियो । विद्युत सुचारु गर्न नेपाल विद्युत प्राधिकरणबाट प्राविधिक टोली परिचालन गरिएको छ ।