प्याब्सन चित्रकला प्रतियोगिता सम्पन्न, जिल्ला तहका लागि १८ विद्यार्थी छनोट

Breaking Nepal

मंगलबार ,असार २ , २०८३ १८:२८

विराटनगर / प्याब्सन विराटनगरको आयोजनामा ‘विराटनगर स्तरीय प्याब्सन चित्रकला प्रतियोगिता’ सम्पन्न भएको छ । विद्यार्थीहरूमा रहेको सिर्जनशील क्षमता अभिवृद्धि तथा कला प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा जुनियर र सिनियर दुई समूहका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सिनियर समूह (कक्षा ६–१०) तर्फ ग्रेडेड इङलिस स्कुलकी कृतिका यादव प्रथम, दिल्ली पब्लिक स्कुलकी प्रेरणा पण्डित द्वितीय तथा एभरेष्ट सेकेण्डरी इङलिस स्कुलकी रोशनी ठाकुर तृतीय भइन् । पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलकी अनिषा राईले सान्त्वना स्थान हासिल गरिन् ।

यसैगरी, सिनियर समूहबाट बीकेभीएमका काव्य विनोद निरौला, अर्पण इङलिस स्कुलकी रेश्मा राजवंशी, गौतम बुद्ध स्कुलकी आहिष्मा आचार्य, बुढानीलकण्ठ स्कुलका योगराज शाह, सुनम्नीमा स्कुलकी स्मृति मगर तथा पोलस्टार स्कुलका ईशान चौधरी जिल्ला स्तरीय प्रतियोगिताका लागि छनोट भएका छन् ।

जुनियर समूह (कक्षा १–५) तर्फ सेन्ट जोसेफ स्कुलकी इशाना गिरी प्रथम, दिल्ली पब्लिक स्कुलका प्रणव पण्डित द्वितीय तथा हेरिटेज स्कुलका कोभिड कुण्डलिया तृतीय भए । अर्किड पब्लिक स्कुलकी एलिना ठाकुर सान्त्वना स्थानमा रहिन् ।

जुनियर समूहबाट किड्स भिलेजका श्रीयांश थापा, डीएभीका युवराज सिंह, ओडिसी स्कुलकी सृष्टी यादव तथा अर्पण स्कुलका आरभ खड्का पनि जिल्ला स्तरीय प्रतियोगिताका लागि छनोट भएका छन् ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले चित्रकलाले विद्यार्थीमा एकाग्रता, सिर्जनशीलता र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले कला क्षेत्रमा निरन्तर अभ्यास गर्न सके यसलाई भविष्यमा व्यावसायिक सीप तथा आयआर्जनको माध्यमका रूपमा समेत विकास गर्न सकिने उल्लेख गरे ।

प्रतियोगिताका विजेताहरुलाई अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष अशोक लामा, यादव प्रधानलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका   थिए ।

प्रतियोगिताबाट छनोट भएका सिनियर समूहका १० तथा जुनियर समूहका ८ गरी १८ विद्यार्थीले आगामी असार ७ गते बेलबारीमा हुने जिल्ला स्तरीय प्याब्सन चित्रकला प्रतियोगितामा सहभागिता जनाउनेछन् । आयोजकले छनोट भएका सबै विद्यार्थीलाई आगामी प्रतिस्पर्धाका लागि शुभकामना दिएको छ ।