Breaking Nepal

काठमाडौं / जेठमा पनि घरजग्गाको कारोबार सुस्त देखिएको छ । देशभरका भूमि प्रशासन कार्यालयबाट जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । अघिल्लो वैशाखको तुलनामा राजस्व संकलन झण्डै एक अर्ब रुपैयाँले घटेको देखिएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभर सञ्चालनमा रहेका १३८ भूमि प्रशासन कार्यालयले जेठमा कुल पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ राजस्व उठाएका छन्। संकलित राजस्वमध्ये रजिष्ट्रेसन दस्तुरको हिस्सा सबैभन्दा ठूलो रहेको छ।
विभागका तथ्यांकअनुसार रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६ रुपैयाँ राजस्व प्राप्त भएको छ। यस्तै, पुँजीगत लाभकरबाट दुई अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ रुपैयाँ र सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५६० रुपैयाँ संकलन भएको छ।
राजस्व संकलनका आधारमा भूमि प्रशासन कार्यालय डिल्लीबजार अग्रस्थानमा रहेको छ। उक्त कार्यालयले जेठमा ३४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको विभागले जनाएको छ। त्यसपछि चाबहिल कार्यालयले ३१ करोड ४२ लाख १९ हजार रुपैयाँ र टोखा कार्यालयले १० करोड ९९ लाख २३ हजार रुपैयाँ राजस्व उठाएका छन्।
पछिल्ला महिनाको तथ्यांकले मालपोत राजस्वमा उतारचढाव देखाएको छ। विभागका अनुसार वैशाखमा देशभरका मालपोत कार्यालयबाट छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व संकलन भएको थियो। चैतमा छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ रुपैयाँ राजस्व उठेको थियो भने फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ संकलन भएको थियो।
भूमि कारोबारको मात्रा, जग्गा खरिद–बिक्री गतिविधि तथा करयोग्य कारोबारको अवस्थाअनुसार मासिक राजस्वमा फरक पर्ने गरेको विभागको तथ्यांकले देखाएको छ।