सम्पत्ति शुद्धीकरण मुद्दाः सुलभ अग्रवाल र दीपक भट्ट पुर्पक्षका लागि थुनामा

Breaking Nepal

बुधबार ,असार ३ , २०८३ २१:२४

काठमाडौं / विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आरोपित सुलभ अग्रवाल र दीपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले थुनछेक बहसपछि दुवैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतले जारी गरेको आदेशमा अग्रवालको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक उपचारको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ ।

अग्रवाल र भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । प्रारम्भिक सुनुवाइ तथा थुनछेक बहसको प्रक्रिया सम्पन्न भएपछि अदालतले अनुसन्धान तथा मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म उनीहरूलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने निष्कर्षसहित आदेश जारी गरेको हो ।

यस मुद्दालाई पछिल्लो समय बहुचर्चित आर्थिक अपराधसम्बन्धी प्रकरणका रूपमा हेरिएको छ । अदालतको आदेशसँगै अब दुवै आरोपितविरुद्धको मुद्दा नियमित सुनुवाइ प्रक्रियामा अघि बढ्नेछ ।