Breaking Nepal

विराटनगर / नेकपा (एमाले) ले पछिल्ला निर्वाचन परिणाम, बदलिँदो राजनीतिक परिवेश र संगठनात्मक चुनौतीहरूको समीक्षा गर्दै पार्टी पुनर्गठन तथा संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाउने संकेत दिएको छ । कोशी प्रदेशबाट सुरु गरिएको ‘मिसन पार्टी जागरण अभियान’ मार्फत एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन पुनः सक्रिय बनाउने रणनीति अघि सारेको हो ।
विराटनगरमा सम्पन्न निर्वाचन समीक्षा, पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन तथा जागरण अभिमुखीकरण कार्यक्रममा पार्टी नेतृत्वले संगठनात्मक कमजोरी, नेतृत्व विकास, जनविश्वास र डिजिटल राजनीतिको प्रभावबारे खुला समीक्षा गरेको छ ।
मंगलबार आयोजित सुझाव संकलन कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने बुधबार सम्पन्न जागरण अभिमुखीकरण कार्यक्रममा महासचिव शंकर पोखरेलले पार्टीले सामना गरिरहेका चुनौती र सुधारका आवश्यकताबारे धारणा राखेका थिए ।
कार्यक्रममा महासचिव पोखरेलले डिजिटल युगअनुकूल आफूलाई रूपान्तरण गर्न नसक्नु एमालेको प्रमुख कमजोरीमध्ये एक रहेको स्वीकार गरे । सामाजिक सञ्जाल र प्रविधिको प्रभावकारी उपयोगमा नयाँ राजनीतिक शक्तिहरू अगाडि बढिरहेका बेला एमाले परम्परागत राजनीतिक शैलीमै सीमित रहँदा त्यसको असर निर्वाचन परिणाममा परेको उनको निष्कर्ष थियो ।
उनले विकास र सामाजिक न्यायका पक्षमा उल्लेखनीय काम गरेको दाबी गरिए पनि शिक्षा, स्वास्थ्यलगायत जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा अपेक्षित परिणाम दिन नसक्दा जनविश्वास कमजोर बनेको बताए ।
“हामीले गरेका काम र जनताले अनुभूति गरेका परिणामबीचको दूरी निर्वाचन परिणाममा प्रतिबिम्बित भएको छ,” पोखरेलको भनाइ थियो ।
नयाँ राजनीतिक शक्तिहरूको उदयबारे टिप्पणी गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले बलियो संगठनात्मक संरचनाबिनै डिजिटल माध्यममार्फत मतदातासम्म प्रभावकारी पहुँच विस्तार गर्न सफल भएको उल्लेख गरे । बदलिँदो राजनीतिक र प्राविधिक वातावरणलाई समयमै आत्मसात् गर्न नसक्दा एमालेले आफ्ना परम्परागत प्रभाव क्षेत्रमै चुनौती सामना गर्नुपरेको उनको भनाइ थियो ।
पोखरेलले उम्मेदवार छनोट, नेतृत्व निर्माण र आन्तरिक लोकतन्त्रका विषयमा समेत गम्भीर आत्मसमीक्षा आवश्यक रहेको औंल्याए। कार्यकर्तामाझ लोकप्रिय हुनु मात्र पर्याप्त नहुने र आमजनताले विश्वास गर्ने नेतृत्वलाई अगाडि ल्याउन नसके आगामी निर्वाचनमा पनि चुनौती दोहोरिन सक्ने चेतावनी उनले दिए ।
उनका अनुसार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजन र त्यसपछि जनअपेक्षाअनुरूप परिणाम दिन नसक्नु नयाँ राजनीतिक शक्तिहरूको उदयका प्रमुख कारणमध्ये एक हो ।
कार्यक्रममा एमाले सचिव शेरधन राईले पार्टीलाई पुनः मुख्य, स्थायी र भरपर्दो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न संगठनात्मक जागरण आवश्यक रहेको बताए। उनले अभियानले कार्यकर्ता पंक्तिमा नयाँ ऊर्जा र उत्साह थपेको दाबी गरे ।
“निराशा, शिथिलता र रक्षात्मक मनोवृत्तिलाई चिर्दै संगठनलाई नयाँ गतिशीलता दिन सके एमाले पुनः राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रूपमा स्थापित हुन सक्छ,” राईले उल्लेख गरे ।
एमालेले देशभर ‘मिसन पार्टी जागरण अभियान’ विस्तार गर्ने तयारी गरिरहेको छ । कोशी प्रदेशमा सम्पन्न कार्यक्रमलाई उक्त अभियानको प्रारम्भिक अभ्यास तथा संगठन पुनर्जीवनको सुरुआती चरणका रूपमा हेरिएको पार्टी नेताहरूले बताएका छन् ।