सप्तरी सीमामा तस्करको दुस्साहस : प्रहरी टोलीमाथि आक्रमण, असई कुटिए

Breaking Nepal

बिहीबार ,असार ४ , २०८३ १०:५०

सप्तरी / सप्तरीको नेपाल–भारत सीमावर्ती क्षेत्रमा कपडा तस्करी नियन्त्रण गर्न खटिएको नेपाल प्रहरीको टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ । बलान बिहुल गाउँपालिका–५, रामनगर कोदरकट्टीस्थित दशगजा क्षेत्र नजिक बिहीबार बिहान भएको घटनामा प्रहरी चौकीका इन्चार्ज असई रामकुमार यादवमाथि कुटपिट भएको जनाइएको छ ।

प्रहरी स्रोतका अनुसार बिहान करिब ४ बजे सीमा स्तम्भ नम्बर २४३ आसपास कपडा तस्करी भइरहेको सूचनापछि रामनगर कोदरकट्टी प्रहरी चौकीबाट खटिएको टोलीमाथि तस्कर समूहले एक्कासि आक्रमण गरेको हो ।

घटनामा संलग्न समूहले भारतीय नागरिकसमेत बोलाएर प्रहरीमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोप लागेको छ। आक्रमणपछि सीमाक्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको स्थानीय स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले प्रहरीमाथि कुटपिट भएको पुष्टि गर्दै घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको पहिचानबारे अनुसन्धान भइरहेको बताए ।

उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ भने दोषीहरूको खोजी तथा पक्राउका लागि प्रहरी परिचालन गरिएको छ ।

नेपाल–भारत खुला सीमामा पछिल्लो समय तस्करी गतिविधि नियन्त्रणका क्रममा सुरक्षा निकायमाथि हुने अवरोध र चुनौती बढ्दै गएको सन्दर्भमा यो घटनाले सीमाक्षेत्रको सुरक्षा व्यवस्थामाथि थप प्रश्न खडा गरेको छ ।