Breaking Nepal

काठमाडौं / ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई अनुसन्धानको दायरामा ल्याएको छ। आयोगको टोलीले बुधबार बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर बयानका लागि उपस्थित हुन म्याद तामेल गरेको जनाएको छ।
अख्तियार स्रोतका अनुसार पासपोर्ट खरिद प्रक्रियामा मन्त्रीस्तरबाट कुनै प्रत्यक्ष लिखित निर्णय नदेखिए पनि ठेक्का व्यवस्थापन, प्याकेज निर्माण तथा ठेकेदार छनोटमा प्रभाव पारिएको भन्ने उजुरी र संकलित प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको हो। यस क्रममा डा. राणासँगै उनका छोरा जयवीर देउवाको भूमिकाबारे समेत छानबिन भइरहेको बताइएको छ।
आयोगले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहित विभिन्न अधिकारी र व्यवसायीलाई नियन्त्रणमा लिएर बयान गरिरहेको छ। ई–पासपोर्ट खरिदमा प्राविधिक मूल्यांकन प्रक्रिया मिचिएको तथा राज्यलाई झण्डै एक अर्ब रुपैयाँसम्म अतिरिक्त भार परेको दाबीसमेत उजुरीमा गरिएको छ।
अख्तियारले करिब ४० जनामाथि अनुसन्धान गरिरहेको र आगामी केही दिनभित्र मुद्दाको टुंगो लगाउने तयारी भइरहेको जनाएको छ।