सामी कार्यक्रम प्रभावकारी : भोजपुरमा २७ सय नागरिकले पाए वैदेशिक रोजगार परामर्श

Breaking Nepal

सोमबार ,असार ८ , २०८३ १४:००

भोजपुर / वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र सूचना–आधारित बनाउन सञ्चालन गरिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम भोजपुरमा प्रभावकारी देखिएको छ। सन् २०१९ देखि सञ्चालनमा रहेको कार्यक्रममार्फत चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २ हजार ६ सय ७७ जनाले वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा प्राप्त गरेका छन्।

नेपाल सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सहकार्यअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार तथा भोजपुरका नौवटै स्थानीय तहको लागत साझेदारीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रमले वैदेशिक रोजगारीमा जान इच्छुक नागरिकलाई निःशुल्क सूचना, परामर्श, कानुनी सहायता, वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय भोजपुरमा सञ्चालित आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) बाट चालु आर्थिक वर्षको जेठसम्म १ हजार ८ सय ४१ पुरुष र ८ सय ३६ महिलासहित २ हजार ६ सय ७७ जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श प्रदान गरिएको छ । सो अवधिमा २ हजार ७ सय ३९ जनाले राहदानीका लागि प्रक्रिया अघि बढाएका थिए, जसमा १ हजार ८ सय ९१ पुरुष र ८ सय ४८ महिला रहेका छन् ।

सुरक्षित आप्रवासन कार्यक्रमले वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगी, शोषण तथा अन्य जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ । कार्यक्रमले सुरक्षित वैदेशिक रोजगारी प्रवर्द्धनसँगै आप्रवासनसम्बन्धी जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताए ।

कार्यक्रम कार्यान्वयनका लागि जिल्लामा २३ जना जनशक्ति परिचालन गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा ६० वटा वित्तीय साक्षरता तालिम सञ्चालन गरिएका छन् भने विद्यालय तथा समुदायस्तरमा १ सय १९ वटा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका छन् ।

सामी परियोजना भोजपुरका जिल्ला कार्यक्रम संयोजक कर्ण पुलामीका अनुसार वैदेशिक रोजगारीका क्रममा उत्पन्न २० वटा समस्यामध्ये नौवटा समाधान गरिएका छन् । त्यसक्रममा पीडित श्रमिकलाई १ करोड १३ लाख १२ हजार ८ सय ९ रुपैयाँ फिर्ता दिलाइएको छ ।

कार्यक्रमअन्तर्गत मनोसामाजिक परामर्श सेवा पनि सञ्चालन भइरहेको छ। हालसम्म ३ सय ६० वटा परामर्श सेवा प्रदान गरिएकामध्ये २ सय १९ केसमा सकारात्मक प्रगति देखिएको छ भने ८५ वटा समस्या समाधान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार वैदेशिक रोजगारीसँग सम्बन्धित ठगी तथा जोखिमबारे चेतनामूलक सन्देश प्रवाह गर्न कार्यक्रमले सहयोग पुर्‍याएको छ ।

सरोकारवालाहरूले सामी कार्यक्रमले भोजपुरमा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र थप लाभदायक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । भोजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहका अनुसार कार्यक्रममार्फत प्रदान गरिएका सेवा तथा सचेतनामूलक गतिविधिबाट वैदेशिक रोजगारीमा जाने नागरिक र उनीहरूका परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।