Breaking Nepal

विराटनगर / काठमाडौं मल्टिपल कलेज तथा अल नेपाल कलेज अफ टेक्निकल एजुकेशनको संयुक्त विद्यार्थी कल्याण तथा विकास परिषद्को अध्यक्षमा अस्मित गोसाई भारी मतसहित निर्वाचित भएका छन् ।
हालै सम्पन्न निर्वाचनमा गोसाईले ८९.२८ प्रतिशत मत प्राप्त गर्दै अध्यक्ष पदमा स्पष्ट विजय हासिल गरेका हुन् । विभिन्न शैक्षिक कार्यक्रम तथा तहका प्रतिनिधिहरूले मतदान गरेको निर्वाचनको अन्तिम नतिजा कलेजका सञ्चालक निर्मल सापकोटाले सार्वजनिक गरेका थिए ।
निर्वाचनपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष गोसाईले परिषद्लाई केवल औपचारिक कार्यक्रम आयोजना गर्ने संरचनाका रूपमा सीमित नराखी विद्यार्थीहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास, सीप अभिवृद्धि र समग्र उन्नयनका लागि प्रभावकारी साझा मञ्चका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार परिषद्मार्फत सार्वजनिक वक्तृत्वकला, नेतृत्व विकास, करियर परामर्श, शैक्षिक गोष्ठी, खेलकुद तथा सांस्कृतिक कार्यक्रम, रक्तदान अभियान, जनस्वास्थ्य सचेतना र विद्यार्थी केन्द्रित विविध गतिविधि सञ्चालन गरिनेछ । विद्यार्थी, शिक्षक तथा प्रशासनबीच सशक्त समन्वय कायम गर्दै विद्यार्थीहरूको आवाजलाई संस्थागत रूपमा प्रतिनिधित्व गर्ने लक्ष्य परिषद्ले लिएको उनले बताए ।
निर्वाचन कार्यक्रम काठमाडौं मल्टिपल कलेजकी क्याम्पस प्रमुख सञ्जिता बिष्ट, अल नेपाल कलेज अफ टेक्निकल एजुकेशनका क्याम्पस प्रमुख जयबहादुर घले, जनस्वास्थ्य स्नातक विभाग प्रमुख सुष्मा न्यौपाने, स्वास्थ्य सहायक विभाग प्रमुख अञ्जना दाहाल तथा नमिता बास्तोलालगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
कलेज प्रशासनका अनुसार परिषद्को नयाँ नेतृत्वले विद्यार्थी सहभागिता, नेतृत्व विकास र संस्थागत समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।