सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

Breaking Nepal

सोमबार ,असार ८ , २०८३ २०:४१

सुर्खेत / नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरेको छ। पार्टीको निर्वाचन समीक्षा तथा संगठन पुनर्गठन अभियानअन्तर्गत आयोजित कार्यक्रममा सहभागी भइरहेका बेला उनलाई नियन्त्रणमा लिइएको हो।

पौडेल सुर्खेतको वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित एमालेको कार्यक्रमका क्रममा रहेका बेला प्रहरी टोली पुगेको थियो। प्रत्यक्षदर्शीका अनुसार कार्यक्रम जारी रहेकै अवस्थामा प्रहरीले पौडेललाई बाहिर बोलाएर नियन्त्रणमा लिएको थियो।

प्रहरी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई नियन्त्रणमा लिएको हो। विभागले अनुसन्धानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरेपछि पक्राउ गरिएको बताइएको छ।

पक्राउपछि पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेत लगिएको थियो। अनुसन्धानको आवश्यकताअनुसार उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतको भनाइ छ।

यस घटनाको पुष्टि गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले विभागको अनुरोधबमोजिम पौडेललाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

पौडेल सहभागी कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, नेता छविलाल विश्वकर्मा तथा रामबहादुर थापा ‘बादल’ लगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमकै बीचमा भएको पक्राउ घटनापछि उपस्थित कार्यकर्ताबीच व्यापक चासो र चर्चा भएको थियो।

एमाले नेता छविलाल विश्वकर्माले पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको समन्वयमा पक्राउ गरिएको जानकारी आफूले प्राप्त गरेको बताएका छन्।

यसअघि अनुसन्धानका क्रममा विभागले ललितपुरको भैँसेपाटीस्थित पौडेल निवासमा समेत छानबिन गरेको स्रोतको दाबी छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको विषय र त्यससँग सम्बन्धित आरोपबारे भने विभाग तथा प्रहरी निकायले औपचारिक विवरण सार्वजनिक गरेका छैनन्। अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको जनाइएको छ।