Breaking Nepal

भेनेजुयला– भेनेजुयलामा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने तीन हजार ३६० जना घाइते भएका छन्। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
गत बुधबार केही सेकेन्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको थियो। तीमध्ये दोस्रो भूकम्प ७.५ म्याग्निच्युडको मापन गरिएको थियो, जुन पछिल्लो एक शताब्दीमा भेनेजुयलामा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ।
अधिकारीहरूका अनुसार राजधानी नजिकैको उत्तरी क्षेत्र ला गुआयरा सबैभन्दा बढी प्रभावित भएको छ। देशका प्रमुख दुई बन्दरगाहमध्ये एक रहेको यस क्षेत्रमा भेनेजुयलाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल’ पनि अवस्थित छ।
भूकम्पपछि धेरै मानिस अझै बेपत्ता रहेका छन्। उद्धार टोलीले भग्नावशेष हटाउँदै खोजी कार्यलाई तीव्रता दिएको छ। उद्धार अभियान जारी रहेकाले क्षतिको विवरण अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।