एमएसएमई सशक्तीकरणमै दिगो आर्थिक वृद्धिको आधार, लगानी र नीतिगत सुधारमा राष्ट्रसङ्घको जोड

Breaking Nepal

शनिबार ,असार १३ , २०८३ १३:१५

काठमाडौं– विश्वभर आज ‘सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) दिवस’ मनाइँदै छ। यस वर्ष ‘नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत सूक्ष्म, साना तथा मझौला उद्यमलाई सशक्त बनाऔँ’ भन्ने नारासहित विभिन्न देशमा दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको छ।

सूक्ष्म, साना तथा मझौला उद्यमले रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र समावेशी आर्थिक वृद्धिमा पुर्‍याएको योगदानलाई विश्वव्यापी रूपमा उजागर गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् २०१७ देखि प्रत्येक वर्ष जुन २७ लाई एमएसएमई दिवसका रूपमा मनाउन थालेको हो।

राष्ट्रसङ्घका अनुसार विश्वका ९० प्रतिशतभन्दा बढी व्यवसाय सूक्ष्म, साना तथा मझौला उद्यमकै दायरामा पर्छन्। यिनले विश्वव्यापी रोजगारीको ६० देखि ७० प्रतिशत हिस्सा ओगट्नुका साथै विश्व कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा करिब ५० प्रतिशत योगदान पुर्‍याइरहेका छन्।

विशेषगरी महिला, युवा, न्यून आय भएका वर्ग तथा अन्य सीमान्तकृत समुदायका लागि रोजगारी र आयआर्जनको प्रमुख माध्यमका रूपमा एमएसएमई स्थापित हुँदै गएको राष्ट्रसङ्घको निष्कर्ष छ। स्थानीय उत्पादन, उद्यमशीलता विकास र आर्थिक गतिविधि विस्तारमा यस्ता उद्यमको भूमिका झन् महत्वपूर्ण बन्दै गएको उल्लेख गरिएको छ।

राष्ट्रसङ्घले पर्याप्त नीतिगत समर्थन, लगानी र प्रविधिमा पहुँच सुनिश्चित गर्न सके एमएसएमईले आर्थिक रूपान्तरण, उत्पादन विस्तार र रोजगारी सिर्जनालाई अझ तीव्र बनाउन सक्ने जनाएको छ। दिगो विकास लक्ष्य (एसडीजी) अन्तर्गत लक्ष्य ८ (सभ्य रोजगारी तथा आर्थिक वृद्धि) र लक्ष्य ९ (उद्योग, नवप्रवर्तन र पूर्वाधार) हासिल गर्न पनि यिनको योगदान निर्णायक रहने उल्लेख गरिएको छ।

यद्यपि अधिकांश एमएसएमई वित्तीय स्रोतको सीमित पहुँच, कमजोर पूर्वाधार, साँघुरो बजार, अनौपचारिक व्यवसाय सञ्चालन, सीप तथा प्रविधिको अभाव र जटिल नियामकीय प्रक्रियाजस्ता चुनौतीसँग जुधिरहेका छन्। जलवायु परिवर्तन, भूराजनीतिक तनाव, आपूर्ति शृङ्खलामा आएको अवरोध, उत्पादन लागत वृद्धि र तीव्र डिजिटल रूपान्तरणले यी चुनौतीलाई थप जटिल बनाएको राष्ट्रसङ्घको भनाइ छ।

यद्यपि डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, हरित नवप्रवर्तन र दिगो औद्योगिकीकरणले एमएसएमईका लागि नयाँ अवसर पनि सिर्जना गरिरहेको राष्ट्रसङ्घले औँल्याएको छ। यिनै माध्यमबाट उत्पादनशीलता वृद्धि, अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा दिगो औद्योगिक विकासलाई गति दिन सकिने उल्लेख गरिएको छ।

राष्ट्रसङ्घले यी अवसरलाई प्रभावकारी रूपमा उपयोग गर्न लक्षित लगानी, सहायक नीतिगत व्यवस्था, सहुलियतपूर्ण वित्तीय पहुँच तथा सरकार, निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ। साथै व्यवसाय दर्ता प्रक्रिया सरलीकरण, डिजिटल पूर्वाधार विस्तार, सीप विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीतिले एमएसएमईलाई थप प्रतिस्पर्धी र सक्षम बनाउने विश्वास व्यक्त गरेको छ।

राष्ट्रसङ्घका अनुसार सूक्ष्म, साना तथा मझौला उद्यमको सशक्तीकरणले समावेशी आर्थिक वृद्धि, औद्योगिक विकास, रोजगारी विस्तार र दिगो विकास लक्ष्य हासिल गर्न दीर्घकालीन योगदान पुर्‍याउनेछ।