Breaking Nepal

काठमाडौं– लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रलाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा बैंकले कार्यक्रम सार्वजनिक गर्दै देशभरका नवप्रवर्तनशील सोच भएका युवा तथा उद्यमीबाट आवेदन आह्वान गरेको हो।
बैंकका अनुसार ‘उद्यमशाला’ कार्यक्रमले व्यवसाय सुरु गर्न चाहने नवउद्यमीदेखि व्यवसाय विस्तारको चरणमा रहेका एमएसएमईलाई आवश्यक ज्ञान, सीप, परामर्श र व्यावसायिक सञ्जाल उपलब्ध गराउने लक्ष्य लिएको छ। कार्यक्रममार्फत उद्यमशीलता विकाससँगै प्रतिस्पर्धी र दिगो व्यवसाय निर्माणमा सहयोग पुर्याइने बैंकको विश्वास छ।
काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यक्रमको औपचारिक घोषणा गर्दै एमएसएमई क्षेत्रका साझा समस्या समाधानका लागि यो प्लेटफर्म तयार गरिएको बताए। उनका अनुसार विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकमार्फत सहभागीलाई व्यावहारिक ज्ञान, व्यवसाय सञ्चालनका रणनीति र चुनौती समाधानका उपाय उपलब्ध गराइनेछ।
बैंकले ‘उद्यमशाला’लाई दुई चरणमा सञ्चालन गर्ने जनाएको छ। पहिलो चरण ‘इन्क्युबेसन’ कार्यक्रम व्यवसाय सुरु गर्ने तयारीमा रहेका नवउद्यमीका लागि लक्षित हुनेछ। यसअन्तर्गत व्यवसायिक योजना निर्माण, क्षमता विकास, मार्गनिर्देशन र नेटवर्क विस्तारमा सहजीकरण गरिनेछ।
दोस्रो चरण ‘एक्सीलेरेसन’ कार्यक्रम सञ्चालनमा रहेका तर विस्तार, आधुनिकीकरण वा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा चुनौती भोगिरहेका उद्यमीका लागि केन्द्रित हुनेछ। यसमार्फत आधुनिक प्रविधिको प्रयोग, बजारीकरण, वित्तीय पहुँच तथा सम्बन्धित निकायसँग समन्वय विस्तारमा सहयोग उपलब्ध गराइने बैंकले जनाएको छ।
कार्यक्रममा सहभागीले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार विश्लेषण, उत्पादन व्यवस्थापन, वित्तीय योजना तथा बैंकिङ पहुँचलगायत विषयमा व्यवहारिक प्रशिक्षण प्राप्त गर्नेछन्। बैंकका अनुसार यसले नयाँ उद्यम स्थापना मात्र होइन, विद्यमान व्यवसायलाई दिगो र व्यवस्थित बनाउन पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ।
ग्लोबल आइएमई बैंकले हाल ७७ वटै जिल्लामा ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा उपलब्ध गराउनुका साथै पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न बैंकिङ सम्मानसमेत प्राप्त गरेको जनाएको छ।