युद्धविराम फेरि भंग : इरानमाथि अमेरिकी हवाई आक्रमण

Breaking Nepal

आइतबार ,असार १४ , २०८३ ११:१६

काठमाडौं / अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ। युद्धविराम उल्लङ्घन भएको आरोप लगाउँदै अमेरिकाले शुक्रबार इरानका सैन्य पूर्वाधारमाथि करिब एक घण्टासम्म हवाई आक्रमण गरेको छ।

अमेरिकी सेनाले इरानका मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, तटीय राडार प्रणाली र रणनीतिक सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविरामको उल्लङ्घन गरेपछि जवाफी कारबाही गर्न बाध्य भएको बताएका छन्।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार, २५ जुनमा इरानले होर्मुज जलडमरूमध्य हुँदै गुडिरहेको सिङ्गापुरको कार्गो जहाज ‘एमभी एभर लभ्ली’माथि ड्रोन आक्रमण गरेको थियो। त्यसपछि अमेरिकी सैन्य कारबाही अघि बढाइएको दाबी गरिएको छ।

यता, इरानले भने अमेरिकी आक्रमणको कडा प्रतिवाद गरेको छ। इरानको सरकारी समाचार एजेन्सीका अनुसार, इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी)को नौसेनाले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी जवाफी आक्रमण गरेको जनाएको छ।

बीबीसीका अनुसार, आईआरजीसीले आइतबार बिहान कुवेतस्थित अली अल–सलेम एयरबेस र बहराइनमा रहेको अमेरिकी पाँचौँ फ्लीटको मुख्यालयसँग सम्बन्धित आठ सैन्य संरचनामा ब्यालेस्टिक मिसाइल र ड्रोन प्रहार गरिएको दाबी गरेको छ। ती आक्रमण हालैका अमेरिकी कारबाहीको प्रतिशोधस्वरूप गरिएको आईआरजीसीको भनाइ छ।

इरानी संसद्का सदस्य इब्राहिम अजिजीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका वार्ताकै बीचमा फेरि सैन्य आक्रमणमा उत्रिएको आरोप लगाएका छन्। उनले युद्धविराम उल्लङ्घनको मूल्य अमेरिकाले चुकाउनुपर्ने चेतावनी दिएका छन्।

यसैबीच, इरानको विदेश मन्त्रालयले अमेरिका र इजरायलको सैन्य कारबाहीमा समर्थन जनाएको आरोप लगाउँदै नेटो सदस्य राष्ट्रहरूमाथि पनि प्रश्न उठाएको छ। ती मुलुकहरूले आफ्नो भूमिकाबारे स्पष्ट पार्नुपर्ने इरानको माग छ।

उता, राष्ट्रपति ट्रम्पले इरानलाई थप कडा चेतावनी दिएका छन्। उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा युद्धविराम फेरि उल्लङ्घन भएकाले अमेरिकी विमानले इरानका मिसाइल, ड्रोन भण्डारण केन्द्र तथा राडार साइटमा आक्रमण गरेको उल्लेख गरेका छन्।

ट्रम्पले इरानले आफ्नो व्यवहार नसच्याए अमेरिका थप शक्तिशाली सैन्य कदम चाल्न बाध्य हुने चेतावनी दिँदै आवश्यक परे ‘इस्लामिक रिपब्लिक अफ इरानको अस्तित्व नै समाप्त हुन सक्ने’ टिप्पणी गरेका छन्।

यस्तै, अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले विवाद समाधानको उचित माध्यम वार्ता भएको उल्लेख गर्दै हिंसा जारी रहे त्यसको जवाफ पनि बल प्रयोगबाटै दिइने बताएका छन्। उनले मतभेद समाधानका लागि इरानले संवादको बाटो रोज्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।