Breaking Nepal

विराटनगर / जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा विराटनगरमा रक्तदान, खेलकुद, वक्तृत्वकला तथा दौड प्रतियोगितालगायत विविध कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रमअन्तर्गत आइतबार नेकपा (एमाले) विराटनगर महानगरपालिका–४ कमिटीको आयोजनामा कञ्चनबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३७ जनाले रक्तदान गरेको आयोजक समितिका सल्लाहकार गिरेन्द्र कार्कीले जानकारी दिए ।
यसैदिन विराटनगर–३ स्थित विराट स्पोर्ट्स जोनमा फुटसल प्रतियोगिता पनि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाकी उपमेयर तथा एमाले केन्द्रीय सदस्य शिल्पा निराला कार्कीले गरिन् । सोमबारसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीले २१ हजार, उपविजेताले १४ हजार र तेस्रो हुने टोलीले ७ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मदन भण्डारीको विचार, युवा सहभागिता र अनुशासनलाई केन्द्रमा राख्दै मंगलबार अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने प्रतिस्पर्धीले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै, १८ देखि ५० वर्ष उमेर समूहलाई लक्षित गर्दै ५ किलोमिटर दौड प्रतियोगिता पनि आयोजना गरिनेछ। प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय विजेताले क्रमशः १५ हजार, ११ हजार र ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार असार १७ गते बुधबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सम्पूर्ण प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिनेछ । सोही अवसरमा पाञ्चालीस्थित जिल्ला पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने कार्यक्रम संयोजक नविन पहाडीले जानकारी दिए ।
जननेता मदन भण्डारीको जन्मजयन्तीलाई स्मरणीय बनाउने उद्देश्यले आयोजना गरिएका कार्यक्रममार्फत सामाजिक सेवा, खेलकुद र बौद्धिक गतिविधिलाई एकसाथ प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ ।