Breaking Nepal

विराटनगर / नेपाली कांग्रेसभित्र देखिएको संवादहीनता अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाउने प्रयासस्वरूप विभिन्न महानगर समितिका सभापतिहरूले विराटनगरमा सक्रिय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।
काठमाडौं, ललितपुर, वीरगञ्ज र विराटनगर महानगर समितिका सभापतिले आइतबार विराटनगर महानगरपालिकाका मेयर तथा मोरङ कांग्रेसका उपसभापति नागेश कोइरालासँग भेटवार्ता गर्दै पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।
भेटमा काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्य, ललितपुर महानगर समितिका सभापति शोभानन्द दुवाडी, वीरगञ्ज महानगर समितिका सभापति मनिन्द्रलाल श्रेष्ठ र विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं सहभागी थिए ।
यसअघि उनीहरूले कांग्रेस सभापति गगन थापा र निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग पनि छलफल गरेका थिए। त्यसपछि वरिष्ठ नेता डा. शेखर कोइरालासँग संवाद गर्न उनीहरू विराटनगर पुगेका हुन् ।
काठमाडौं महानगर समितिका सभापति शाक्यले पार्टीलाई थप विभाजित हुन नदिई नियमित महाधिवेशनतर्फ अघि बढाउन सबै पक्षबीच सहमति आवश्यक रहेको बताए । विराटनगर महानगर समितिका सभापति चापागाईंले नेतृत्व तहले एकताको पहल नगरे पार्टी केन्द्रीय कार्यालयमै धर्ना दिनेसम्मका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिए ।
वीरगञ्ज महानगर समितिका सभापति श्रेष्ठले डा. शेखर कोइरालासँगको छलफलमा पार्टी एकताको सम्भावित आधारबारे स्पष्ट धारणा प्राप्त भएको जानकारी दिए। उनका अनुसार अब सभापति गगन थापासँग पुनः छलफल गरी साझा सहमतिको खाका तयार गर्ने प्रयास हुनेछ ।
भेटका क्रममा उपसभापति तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्टीको एकता कायम गर्न आवश्यक परे जुनसुकै त्याग गर्न आफू तयार रहेको बताएका छन् ।