Breaking Nepal

पर्वत । रोजगारीका लागि १२ वर्ष साउदी र कोरिया बसेर फर्किएका पर्वतको बिहादी गाउँपालिका–१ का शिवकुमार क्षेत्री अहिले स्वदेशमै सफल कृषक बनेका छन्।
उनले ६० लाख रुपैयाँ लगानीमा ९० रोपनी जग्गामा आधुनिक कृषि फार्म सञ्चालन गर्दै तरकारी, फलफूल, गाईभैँसीपालन तथा काँक्राको बीउ उत्पादन गरिरहेका छन्। उनको फार्मबाट वार्षिक करिब ५० लाख रुपैयाँसम्म कारोबार हुने गरेको छ।
क्षेत्री अध्यक्ष रहेको कृषक समूहले यस वर्ष १,४०० किलो काँक्राको बीउ उत्पादन गरेको छ, जसको बजार मूल्य ८० लाख रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको छ।
विदेशभन्दा स्वदेशमै अथक मेहनत र सही योजनाबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका क्षेत्रीले सरकारबाट सहज कृषि ऋणको व्यवस्था हुनुपर्ने माग पनि गरेका छन्। उनका अनुसार अहिले फार्ममार्फत प्रत्यक्ष रूपमा पाँच जनाले रोजगारीसमेत पाएका छन्।