Breaking Nepal

बागलुङ । विदेशको रोजगारी छाडेर गाउँ फर्किएका युवाहरू अहिले व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी गरिरहेका छन्। दश वर्षअघि मलेसियाबाट फर्किएका लिलाधर शर्मा र साउदी अरबबाट फर्किएका विकास पौडेल जस्ता युवाले गाईपालन व्यवसायमार्फत सफल उदाहरण प्रस्तुत गरेका छन्।
उनीहरू मात्र होइन, पछिल्लो समय बागलुङका धेरै युवाले विदेशको विकल्प रोज्दै स्वदेशमै कृषि तथा पशुपालनमा भविष्य देख्न थालेका छन्। स्थानीय, प्रदेश र संघीय सरकारबाट अनुदान, प्राविधिक सहयोग र उपचार सेवा पाएपछि किसानहरू थप उत्साहित भएका छन्।
जिल्लामा वार्षिक २३ हजार १५७ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ भने आवश्यकता भन्दा बढी दूध पर्वत र गुल्मीमा समेत निर्यात भइरहेको छ। हाल दूधको मूल्य थोकमा रु. ७०–९० र खुद्रामा रु. १००–१२० सम्ममा बिक्री हुने गरेको छ। बागलुङ अहिले दूध उत्पादनमा आत्मनिर्भर जिल्लाका रूपमा स्थापित हुँदै गएको छ।