Breaking Nepal

विराटनगर / मनसुनी प्रणाली सक्रिय बन्दै जाँदा कोशी प्रदेशसहित देशका विभिन्न क्षेत्रमा आज र भोलि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले यसअघि नै विशेष मौसम बुलेटिन जारी गर्दै सम्भावित विपद्को जोखिमलाई ध्यानमा राखेर आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको थियो।
विभागका अनुसार आगामी दुई दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
देशका अधिकांश पहाडी तथा तराई क्षेत्र र हिमाली भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बंगालको खाडी क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले मनसुन थप सक्रिय बनेको विभागको विश्लेषण छ।
भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा डुबानको जोखिम बढ्ने भएकाले विशेषगरी नदी तथा खोलानाला आसपासका बस्ती, सहरी क्षेत्र र तराईका होचा भूभागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। ठूला तथा साना नदी–खोलामा पानीको सतह तीव्र रूपमा बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न पनि सुझाव दिइएको छ।
विभागका अनुसार प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि उत्पादन, स्वास्थ्य सेवा, पर्यटन, नदी किनारका निर्माण आयोजना तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने सम्भावना छ। त्यसैले स्थानीय तह, सरोकारवाला निकाय र सर्वसाधारणलाई आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन अनुरोध गरिएको छ।
जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार मनसुनी वायुको प्रभाव अहिले विशेषगरी लुम्बिनी र सुदूरपश्चिमतर्फ केन्द्रित हुँदै गएको छ। उनका अनुसार पश्चिम चुरे र लुम्बिनी क्षेत्रको तराईमा चट्याङको गतिविधि उल्लेखनीय रूपमा बढेको छ।
उनले कञ्चनपुरको हनुमाननगर क्षेत्रमा पछिल्लो ६ घण्टामा १०९ मिलिमिटर वर्षा रेकर्ड भएको जानकारी दिएका छन्। उनका अनुसार लुम्बिनीको पश्चिमी क्षेत्रदेखि सुदूरपश्चिमसम्म आज राति र भोलि बिहान बढी वर्षा हुने सम्भावना छ भने मध्य मधेस क्षेत्रमा आगामी दुई दिन अत्यधिक वर्षाको सम्भावना भने न्यून रहेको छ।
यद्यपि विभागले कोशी प्रदेशसहित पूर्वी नेपालका नदी प्रणाली, पहाडी जिल्ला र तराईका संवेदनशील क्षेत्रमा पनि मौसमको अवस्थालाई निरन्तर निगरानी गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।