काभ्रेमा बर्डफ्लुको प्रकोप, ४० हजारभन्दा बढी कुखुरा र हाँस नष्ट

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ ११:२७

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमण फैलिँदै गएपछि हालसम्म ४० हजारभन्दा बढी हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ।

जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार पछिल्ला केही हप्तादेखि व्यावसायिक पोल्ट्री फार्ममा बर्डफ्लु देखिएपछि ४० हजार ७२९ हाँस र कुखुरा नष्ट गरिएको हो।

कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि नियन्त्रणका लागि कुखुरा र हाँस नष्ट गरिएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ।

कार्यालयले सङ्क्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा कुखुराको ओसारपसार नियन्त्रणलाई तीव्र बनाएको जनाएको छ। प्रयोगशालाबाट परीक्षणको नतिजा ढिलो आउँदा आवश्यक नियन्त्रणका उपाय समयमै लागू गर्न कठिन भएको पनि कार्यालयले जनाएको छ।

डा. ठाकुरले पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ पालना गर्न, खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, नियमित सरसफाइ गर्न तथा कुखुरा ओसारपसार गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा अपनाउन आग्रह गरेका छन्।

यसैबीच, जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिनाको तथा अवैध रूपमा कुखुरा ओसारपसार रोक्न निगरानी कडा पारिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ।