Breaking Nepal

विराटनगर / लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले ‘हामी सेवा गर्छौं’ भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्दै आर्थिक वर्ष २०२५/२६ को नयाँ कार्यकाल निःशुल्क स्वास्थ्य परीक्षण शिविरबाट सुरु गरेको छ ।
क्लबले कार्यकालको पहिलो दिन विराटनगरको हाटखोला बसपार्कस्थित ए–वान फार्मेसीमा आयोजना गरेको शिविरमा ६५ भन्दा बढी स्थानीयले मधुमेह, रक्तचाप र लिपिड प्रोफाइलको निःशुल्क परीक्षण गराएका छन् ।
शिविरको उद्घाटन लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘सी’ का सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर उदय बराल र एरिया चिफ डा. सुनिल रेग्मीले संयुक्त रूपमा गरेका थिए ।
आधुनिक जीवनशैलीसँग सम्बन्धित नसर्ने रोगको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले आयोजना गरिएको शिविरको संयोजन क्लबका सचिव दीपेन्द्र कार्की र सदस्य तेज साहले गरेका थिए ।
करिब सात वर्षअघि डा. बालकृष्ण साहको नेतृत्वमा संस्थागत रूपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यसहित स्थापना भएको क्लबले विभिन्न चरण पार गर्दै सेवामूलक गतिविधिलाई निरन्तरता दिँदै आएको छ । संस्थापक अध्यक्ष डा. साहपछि दोस्रो हैदर अलि, तेस्रो प्रमोदकुमार चौधरी, चौथो शम्भु साह, पाँचौ डा. सुनिल रेग्मी, छैठौं अनिलकुमार चौधरी, सातौं बृजकुमार दास हुँदै क्लब अहिले प्रमोदकुमार साहको नेतृत्वमा प्रवेश गरेको हो ।
नवनिर्वाचित अध्यक्ष प्रमोदकुमार साहले कार्यकालको सुरुआत स्वास्थ्य परीक्षणजस्तो प्रत्यक्ष जनसेवासँग जोडिएको कार्यक्रमबाट गर्नु क्लबको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको संकेत भएको बताए ।
उनका अनुसार आगामी कार्यकालमा स्वास्थ्य सेवा, नियमित रक्तदान, मधुमेह नियन्त्रण, मानसिक स्वास्थ्य प्रवर्द्धन, वातावरण संरक्षण, युवा सशक्तीकरण, शिक्षा तथा भोकमरी न्यूनीकरणलगायतका क्षेत्रमा परिणाममुखी कार्यक्रम सञ्चालन गरिनेछ ।