डिजिटल ठगीको महामारीः ‘भिडियो लाइक’देखि क्रिप्टो जालसम्म, कोशीमा १५ करोडभन्दा बढी रकम गायब

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ १७:०४

विराटनगर । सामाजिक सञ्जालमा ‘घरमै बसेर सजिलै पैसा कमाउनुहोस्’, ‘प्रति भिडियो लाइक ५० रुपैयाँ’ वा ‘क्रिप्टोमा लगानी गरेर दोब्बर आम्दानी’ जस्ता आकर्षक प्रस्ताव अहिले डिजिटल ठगीको प्रमुख माध्यम बन्दै गएका छन्। यस्ता प्रलोभनमा परेर कोशी प्रदेशमा मात्रै चालु आर्थिक वर्ष हालसम्म १५ करोड रुपैयाँभन्दा बढी रकम सर्वसाधारणले गुमाएको प्रहरीको अनुमान छ।

सुनसरीका २८ वर्षीय एक युवाको अनुभवले डिजिटल ठगीको बदलिँदो स्वरूप उजागर गर्छ। सामाजिक सञ्जालमार्फत आएको ‘भिडियो लाइक’ गर्ने प्रस्तावबाट सुरु भएको सम्पर्क विस्तारै क्रिप्टो लगानी र विभिन्न अनलाइन ‘टास्क’मा पुगेको थियो। सुरुमा सानो रकम प्राप्त भएपछि विश्वास बढ्यो। त्यसपछि लगानी बढाउँदै जाँदा उनले आफ्नै बचत र साथीभाइबाट सापट लिएर करिब ४ लाख रुपैयाँ डिजिटल माध्यमबाट पठाए। तर रकम फिर्ता माग्ने समय आएपछि उनी जोडिएको टेलिग्राम समूह र सम्पर्कका सबै माध्यम एकाएक बन्द भए। अहिले उनी आर्थिक क्षतिसँगै मानसिक तनावको सामना गरिरहेका छन्।

प्रहरीका अनुसार यो घटना अपवाद होइन। पछिल्ला वर्षहरूमा डिजिटल प्लेटफर्ममार्फत हुने ठगी तीव्र रूपमा बढ्दै गएको छ। पहिले चिठ्ठा परेको, विदेशी उपहार आएको वा बैंक विवरण माग्ने शैली प्रयोग गर्ने ठगहरू अहिले पार्टटाइम रोजगारी, अनलाइन टास्क, क्रिप्टो लगानी, ई–कमर्स अफर र बेटिङ एपमार्फत सर्वसाधारणलाई जालमा पार्न थालेका छन्।

विशेषगरी खेलकुद प्रतियोगिताको माहोलमा नक्कली बेटिङ एप र अनलाइन सट्टाबाजीका प्लेटफर्मले युवालाई लक्षित गर्दै ठगी बढाएको प्रहरीको निष्कर्ष छ। सुरुमा सानो रकम जिताएर विश्वास दिलाउने र त्यसपछि ठूलो रकम लगानी गराएर सम्पर्कविहीन हुने प्रवृत्ति बढ्दो क्रममा रहेको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा हरेक वर्ष एक हजार दुई सयभन्दा बढी साइबर अपराधका उजुरी दर्ता हुने गरेका छन्। प्रदेश प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार पछिल्ला दुई वर्षको तुलनामा साइबर अपराधका घटना करिब १४ प्रतिशतले वृद्धि भएका छन्।

प्रहरीको भनाइमा वास्तविक क्षति उजुरीमा देखिएकोभन्दा धेरै ठूलो हुन सक्छ। सामाजिक प्रतिष्ठाको डर, कानुनी प्रक्रियाको झन्झट र रकम फिर्ता नआउने आशंकाका कारण धेरै पीडित प्रहरीसम्म नपुग्ने गरेका छन्।

एसएसपी थापाका अनुसार यस्ता अपराधको अनुसन्धान जटिल बन्दै गएको छ। ठगहरूले नक्कली सिमकार्ड, अरूकै नाममा खोलिएका बैंक खाता तथा विदेशबाट सञ्चालन हुने डिजिटल सञ्जाल प्रयोग गर्ने भएकाले अपराधी पहिचान र रकम फिर्ता गराउन चुनौती हुने गरेको छ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले डिजिटल साक्षरताको कमी, छिटो धनी बन्ने मनोवृत्ति र सामाजिक सञ्जालप्रतिको अन्धविश्वासका कारण नागरिकहरू ठगीको सिकार बनिरहेको बताए। उनका अनुसार प्रविधिको प्रयोगसँगै डिजिटल सुरक्षाबारेको चेतना समान रूपमा विकास हुन नसक्दा साइबर अपराधले विस्तार पाएको हो।

घिमिरेले बिना मेहनत सजिलै आम्दानी हुने, छोटो समयमा दोब्बर नाफा दिने वा अस्वाभाविक प्रतिफलको आश्वासन दिने कुनै पनि प्रस्तावप्रति शंका गर्नुपर्ने बताए। प्रविधि आफैं समस्या नभए पनि असावधानीले अपराधीलाई अवसर दिने भएकाले डिजिटल माध्यम प्रयोग गर्दा व्यक्तिगत विवरण, बैंकिङ सूचना र लगानीसम्बन्धी निर्णयमा विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।

प्रहरीले बढ्दो डिजिटल ठगी नियन्त्रणका लागि कानुनी कारबाहीसँगै नागरिकस्तरमा डिजिटल साक्षरता, सचेतना र जिम्मेवार प्रविधि प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएको छ।