इन्धन सस्तो भएपछि सार्वजनिक सवारीको भाडा घट्ने,

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ १७:१४

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती भएपछि सार्वजनिक यातायातको भाडादर पनि घट्ने भएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणालीअनुसार नयाँ भाडादर निर्धारणको प्रक्रिया अघि बढाएको छ।

आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा ३० रुपैयाँ घटाएको थियो। इन्धनको मूल्यमा आएको यो गिरावटपछि यात्रुवाहक सार्वजनिक सवारीको सञ्चालन लागत घट्ने भएकाले भाडा समायोजन अपरिहार्य बनेको विभागको निष्कर्ष छ।

विभागले इन्धन, लुब्रिकेन्ट, मर्मत–सम्भारलगायत सञ्चालन लागतसँग सम्बन्धित सूचकको विश्लेषण गर्दै नयाँ भाडादर तय गर्न प्राविधिक गृहकार्य गरिरहेको जनाएको छ। नयाँ दर केही दिनभित्र सार्वजनिक गर्ने तयारी रहेको विभाग स्रोतले जनाएको छ।

यसअघि इन्धनको मूल्य बढ्दा वैज्ञानिक भाडा प्रणालीले करिब १३ प्रतिशत भाडा वृद्धि आवश्यक देखाएको थियो। तर, उपभोक्तामाथिको आर्थिक भार कम गर्ने उद्देश्यले सरकारले ५ प्रतिशत मात्रै भाडा बढाएको थियो। त्यसबेला यातायात व्यवसायीहरूले लागतअनुसार भाडा समायोजन नभएको भन्दै असन्तुष्टि जनाएका थिए।

अहिले भने इन्धनको मूल्य उल्लेख्य रूपमा घटेकाले व्यवसायीहरू पनि भाडा पुनरावलोकनप्रति सकारात्मक देखिएका छन्। विभागका अनुसार यात्रुवाहक सार्वजनिक सवारीको भाडा केही प्रतिशत घट्ने लगभग निश्चित छ। यद्यपि अन्तिम दर भने प्राविधिक विश्लेषण र छलफलपछि मात्रै तय हुनेछ।

मालवाहक सवारीको भाडादरमा भने तत्काल ठूलो परिवर्तन नहुने संकेत देखिएको छ। विभागका एक अधिकारीका अनुसार यात्रुवाहक सवारीको तुलनामा ढुवानी सेवाको लागत संरचना फरक हुने भएकाले मालवाहक भाडामा सीमित मात्र समायोजन हुन सक्नेछ।