सेनाको आधुनिकीकरण र भ्रष्टाचार नियन्त्रणमा सीको जोड, ताइवान एकीकरणको लक्ष्य पुनः दोहोर्‍याए

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ १८:२२

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रिय रक्षा क्षमता सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारविरुद्धको अभियानलाई थप कडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले ताइवानलाई चीनसँग एकीकरण गर्ने लक्ष्य पुनः दोहोर्‍याउँदै बाह्य हस्तक्षेपको प्रतिरोध गर्नुपर्नेमा जोड दिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको १०५औँ स्थापना दिवसका अवसरमा ग्रेट हल अफ द पिपुलमा आयोजित कार्यक्रममा राजनीतिक तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्दै सीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नियन्त्रण कायम राख्दै राष्ट्रिय रक्षा र सैन्य आधुनिकीकरणलाई निरन्तर अघि बढाइने बताए।

उनका अनुसार बलियो र आधुनिक सेना राष्ट्रिय सुरक्षा तथा दीर्घकालीन स्थायित्वको आधार भएकाले रक्षा क्षमतामा थप लगानी र सुधारलाई प्राथमिकता दिइनेछ।

सीले सम्बोधनका क्रममा पार्टीभित्र र सैन्य संरचनामा भ्रष्टाचारविरुद्धको अभियान थप प्रभावकारी बनाइने स्पष्ट पारे। पछिल्ला वर्षहरूमा सञ्चालन गरिएको अभियानका क्रममा दुई जना रक्षामन्त्री पदमुक्त भइसकेका छन् भने केन्द्रीय सैन्य आयोगमा पनि व्यापक नेतृत्व परिवर्तन गरिएको छ। यद्यपि, यसले सेनाको नेतृत्व संरचना र युद्ध तयारीमाथि अन्तर्राष्ट्रिय विश्लेषकहरूले प्रश्न उठाउँदै आएका छन्।

यसअघि मे महिनामा केन्द्रीय सैन्य आयोगले वरिष्ठ सैन्य अधिकारीमाथि कडा अनुशासन, व्यवस्थापन र निगरानीसम्बन्धी नयाँ व्यवस्था लागू गरेको थियो। सेनाभित्र पारदर्शिता, अनुशासन र जवाफदेहितालाई संस्थागत गर्ने उद्देश्यले उक्त कदम चालिएको जनाइएको छ।

ताइवानको विषयमा सीले पुरानै अडान दोहोर्‍याउँदै ताइवान चीनको अभिन्न भूभाग रहेको उल्लेख गरे। ताइवानसँगको पूर्ण एकीकरण चिनियाँ कम्युनिस्ट पार्टीको ऐतिहासिक लक्ष्य र सम्पूर्ण चिनियाँ जनताको साझा आकांक्षा भएको उनको भनाइ थियो। उनले कुनै देशको नाम नलिई बाह्य शक्तिको हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गरिने पनि बताए।

सन् १९२१ जुलाई १ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीमा सन् २०२५ को अन्त्यसम्म १० करोड १० लाखभन्दा बढी सदस्य रहेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।