लगनखेल मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा, लाइन बस्ने झन्झट अन्त्य

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ १६:५१

काठमाडौं । मानसिक अस्पताल लगनखेलले बिरामीका लागि अनलाइनबाटै ओपीडी टिकट लिन सकिने सेवा सुरु गरेको छ। सेवाग्राहीलाई सहज, छरितो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यसहित अस्पतालले डिजिटल टिकट प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ।

नेपाल सरकारको मन्त्रिपरिषद्बाट २०८२ चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नम्बर ३२ कार्यान्वयन गर्ने क्रममा अस्पतालले यो सेवा सुरु गरेको हो।

मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयको अनुगमन टोलीले अस्पतालको अनुगमन गरेपछि सेवा सञ्चालनलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन पनि दिइएको थियो।

अस्पतालका अनुसार अब सेवाग्राहीले अस्पतालको वेबसाइटमार्फत घरबाटै ओपीडी टिकट बुक गर्न सक्नेछन्। टिकट शुल्कसमेत डिजिटल माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएकाले अस्पताल पुगेर लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।

अस्पतालले अनलाइन टिकट प्रणालीले सेवा प्रवाहलाई थप व्यवस्थित, समयमै सेवा प्राप्त हुने र प्रशासनिक प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरेको छ।

सार्वजनिक बिदाबाहेक अन्य दिन बिहान ९ बजेदेखि १ बजेसम्म तथा दिउँसो २ बजेदेखि ५ बजेसम्म ओपीडी सेवा सञ्चालन हुने अस्पतालले जनाएको छ। अनलाइन टिकट लिएका बिरामीलाई भने बिहानको सेवाका लागि ९ः३० देखि १२ः३० बजेसम्म र दिउँसोको सेवाका लागि २ः३० देखि ४ः३० बजेसम्म अस्पतालमा उपस्थित हुन अनुरोध गरिएको छ।