Breaking Nepal

विराटनगर । कोशी प्रदेशसभाको बिहीबार दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित गरिएको छ। प्रदेश सरकारको अनुरोधपछि बैठक असार १९ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी नयाँ समय निर्धारण गरिएको हो।
प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले बैठकको नयाँ मिति र समय तोकेका छन्।
यसअघि पनि नवौँ अधिवेशनअन्तर्गत असार ११ र असार १६ गतेका बैठकहरू निर्धारित समयमा सञ्चालन हुन सकेका थिएनन्। बिहीबारको बैठक पनि स्थगित भएसँगै प्रदेशसभाको नियमित कार्यसूची पुनः प्रभावित भएको छ।
स्थगित भएको बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित ‘कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत छलफल गर्ने कार्यसूची तय गरिएको थियो।
अब उक्त बजेट विधेयकमाथिको छलफल शुक्रबार बस्ने बैठकमा अघि बढाइने अपेक्षा गरिएको छ।