मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा विराटनगर–१७ मा वृक्षरोपण, हरियाली विस्तार अभियानलाई निरन्तरता

Breaking Nepal

बिहीबार ,असार १८ , २०८३ १६:५२

विराटनगर / नेकपा एमाले विराटनगर महानगरपालिका वडा नं. १७ कमिटीले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । मण्ठा पोखरी चोकदेखि रानी बजारसम्मको सडक खण्डमा विभिन्न प्रजातिका बिरुवा रोपेर कार्यक्रम सम्पन्न गरिएको हो ।

वडा कमिटी अध्यक्ष मो. गुल्जारको नेतृत्वमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, एमाले मोरङका उपाध्यक्ष सागर थापा, महानगर कमिटी अध्यक्ष नवीन गिरीलगायत नेता–कार्यकर्ता तथा स्थानीयको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ र व्यवस्थित सहरी वातावरण निर्माणका लागि वृक्षरोपण प्रभावकारी माध्यम भएको बताएका थिए । रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहलाई समेत अभियानकै रूपमा अघि बढाइने जनाइएको    छ ।

आयोजकका अनुसार मदन भण्डारीको जन्मजयन्तीलाई केवल औपचारिक समारोहमा सीमित नराखी समाजलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक तथा वातावरणमैत्री गतिविधिमार्फत मनाउने उद्देश्यले वृक्षरोपण गरिएको हो । पछिल्लो समय बढ्दो सहरीकरणका कारण हरियाली क्षेत्र घट्दै गएकाले यस्ता अभियानले वातावरणीय सन्तुलन कायम गर्न, प्रदूषण न्यूनीकरण गर्न र भावी पुस्ताका लागि हरित वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

एमाले वडा कमिटीले आगामी दिनमा पनि सरसफाइ, वृक्ष संरक्षण तथा वातावरण सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।