लायन्स क्लब अफ विराटनगर ए–वनको नेतृत्वमा मम्ताज राईन, परिणाममुखी समाजसेवालाई प्राथमिकता

Breaking Nepal

बिहीबार ,असार १८ , २०८३ १६:४६

विराटनगर / लायन्स क्लब अफ विराटनगर ए–वनले लायन्स वर्ष २०२६/२७ का लागि मम्ताज राईनलाई अध्यक्ष चयन गरेको छ । नयाँ नेतृत्वसँगै क्लबले समुदायको वास्तविक आवश्यकतामा आधारित प्रभावकारी, दिगो र परिणाममुखी सामाजिक सेवा अभियान सञ्चालन गर्ने रणनीति अघि सारेको छ ।

अध्यक्ष राईनले आफ्नो कार्यकालमा युवा सशक्तीकरण, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, भोकमरी न्यूनीकरण, रक्तदान, मधुमेह नियन्त्रण तथा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताए । लायन्सको अन्तर्राष्ट्रिय मूल मन्त्र ‘We Serve’ लाई व्यवहारमा उतार्दै समुदायको आवश्यकता पहिचान गरी सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाइने उनको भनाइ छ ।

राईन लामो समयदेखि लायन्स अभियानमा सक्रिय छन् । क्लबको सचिव र प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनले संगठनभित्रको अनुभवलाई संस्थागत विकास र सेवामुखी अभियान विस्तारमा उपयोग गर्ने लक्ष्य लिएका छन् । सदस्यहरूको सक्रिय सहभागिता बढाउँदै क्लबलाई समुदायसँग अझ निकट र उत्तरदायी संस्थाका रूपमा विकास गर्ने उनको योजना छ ।

व्यावसायिक रूपमा राईन विराटनगर भन्सारमा भन्सार जाँचपास व्यवसायमा आबद्ध छन् । उनी भन्सार एजेन्ट संघका सहसचिव तथा जेसिजका सक्रिय सदस्य पनि हुन् । जनप्रशासन विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका उनले विगत पाँच वर्षदेखि लोकसेवा तयारी कक्षाका प्रशिक्षक तथा सहजकर्ताका रूपमा काम गर्दै आएका छन् । प्रारम्भमा विराटनगरमा प्रत्यक्ष कक्षा सञ्चालन गरेका उनले हाल काठमाडौंका विभिन्न शैक्षिक संस्थासँग सहकार्य गर्दै अनलाइन माध्यमबाट लोकसेवा तयारी कक्षा सञ्चालन गरिरहेका छन् ।

लायन्स क्लब अफ विराटनगर ए–वनको स्थापना सन् २०२० अगस्ट ९ मा नेपाल लायन्स डेका अवसरमा रञ्जनकुमार शाहीको नेतृत्वमा भएको थियो । नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष टिकेन्द्र श्रेष्ठ, दोस्रो उपाध्यक्ष अमितकुमार यादव, तेस्रो उपाध्यक्ष सविन अधिकारी तथा निर्देशकमा डा. अभिलेख सिंह रहेका छन् ।

अध्यक्ष राईनले क्लबका सदस्य, अग्रज लायन्स र शुभेच्छुकहरूको साथ, सहयोग तथा सुझावलाई कार्यकालको मुख्य आधार मान्दै सेवा अभियानलाई थप समावेशी, व्यवस्थित र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।