Breaking Nepal

**काठमाडौं।** युक्रेनको राजधानी किएभमा रुसले गरेको व्यापक मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन्। पछिल्ला महिनामध्ये राजधानीमाथि भएको सबैभन्दा विनाशकारी आक्रमणका रूपमा यस घटनालाई हेरिएको छ।
युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार आक्रमणपछि उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको सहरको सैन्य प्रशासनले जनाएको छ।
आक्रमणबाट क्षतिग्रस्त आवासीय भवनको निरीक्षणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई यसको ‘उचित जवाफ’ दिइने चेतावनी दिएका छन्। उनले युक्रेनको आकाश सुरक्षा मजबुत बनाउन अन्तर्राष्ट्रिय साझेदारसँग थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गरेका छन्।
आक्रमणले किएभका विभिन्न आवासीय क्षेत्र, पूर्वाधार तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुर्याएको छ। सहरका मेयर भिटाली क्लिट्स्कोले राजधानीमाथि हालसम्मकै सबैभन्दा ठूलो आक्रमणमध्ये एक भएको बताएका छन्।
युक्रेनस्थित रेड क्रसले आक्रमणका कारण आफ्नो मुख्य गोदाम पूर्ण रूपमा ध्वस्त भएको र करिब २० लाख अमेरिकी डलर बराबरका मानवीय सहायता सामग्री नष्ट भएको जनाएको छ।
युरोपेली सङ्घ (ईयू) का कूटनीतिज्ञहरू बसोबास गर्ने भवनमा पनि आक्रमणको असर पुगेको भए पनि सबै कूटनीतिज्ञ सुरक्षित रहेको ईयूकी प्रवक्ताले जानकारी दिएकी छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नागरिक तथा नागरिक पूर्वाधारलाई लक्षित आक्रमणको कडा निन्दा गर्दै तत्काल युद्धविरामको आह्वान गरेका छन्। उनका अनुसार यस्ता आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत भएकाले तत्काल रोक्न आवश्यक छ।
यसबीच, युरोपेली सङ्घले मस्कोमाथि थप आर्थिक तथा कूटनीतिक प्रतिबन्ध लगाउने तयारी थालेको जनाएको छ। यता, क्रेमलिनले भने आफ्नो अडान नबदल्ने संकेत गर्दै किएभमाथिको सैन्य दबाब अझ बढाइने बताएको छ।
युक्रेनले अमेरिकामा विकसित ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीका मिसाइल स्वदेशमै उत्पादन गर्न अनुमति माग्दै आएको छ। तर रक्षा विश्लेषकहरूले त्यस्तो उत्पादन क्षमता विकास गर्न पर्याप्त समय र पूर्वाधार आवश्यक पर्ने बताएका छन्।
केही दिनअघि राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ठूलो सैन्य आक्रमणको तयारी गरिरहेको गुप्तचर सूचना प्राप्त भएको दाबी गरेका थिए। त्यसलगत्तै किएभमा भएको यो आक्रमणले युद्ध थप चर्किने संकेत दिएको विश्लेषण गरिएको छ।