कोरिया जाने श्रमिकलाई थप आर्थिक भार, भिसा शुल्क ११ हजार ३०० रुपैयाँ पुग्यो

Breaking Nepal

शुक्रबार ,असार १९ , २०८३ १२:५२

काठमाडौं। दक्षिण कोरिया रोजगारीमा जाने नेपाली श्रमिकले अब भिसा प्रक्रियाका लागि थप शुल्क तिर्नुपर्ने भएको छ। नेपालस्थित कोरियन राजदूतावासले भिसा शुल्क वृद्धि गरेपछि ईपीएस प्रणालीमार्फत जाने श्रमिकको लागत बढेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले सार्वजनिक सूचना जारी गर्दै कोरियन राजदूतावासको निर्णयअनुसार नयाँ शुल्क दर लागू भएको जनाएको छ।

शाखाका अनुसार यसअघि भिसा शुल्कबापत १० हजार ७०० रुपैयाँ लाग्दै आएकोमा अब ६०० रुपैयाँ थपिएसँगै शुल्क ११ हजार ३०० रुपैयाँ कायम गरिएको छ। राजदूतावासबाट असार १७ गते प्राप्त पत्रका आधारमा संशोधित शुल्क लागू गरिएको जनाइएको छ।

नयाँ व्यवस्थाअनुसार ईपीएसमार्फत दक्षिण कोरिया जान सीसीभीआई (CCVI) प्राप्त गरेका श्रमिकले सीसीभीआई फाराम भर्दा संशोधित शुल्क अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

भिसा शुल्क कोलेनिका ललितपुरको नाममा नेपाल बैंक लिमिटेड, गाबाहल शाखामा रहेको खाता नम्बर ०१८०१००००००२००६०००००१ मा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको ईपीएस शाखाले जनाएको छ।

शुल्क जम्मा गरेपछि बैंकको सक्कल भौचर र सीसीभीआई फारम लिएर सम्बन्धित व्यक्ति स्वयं ईपीएस कार्यालयमा उपस्थित भई कागजात बुझाउनुपर्नेछ।

शाखाले एउटै व्यक्तिको नाममा कुनै कारणवश दोहोरो रकम जम्मा भए त्यसको फिर्ता नहुने स्पष्ट गर्दै भुक्तानी गर्दा विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ।