संसदमा ग्रामीण स्वास्थ्य र शान्ति सुरक्षाको मुद्दा, सरकारको ध्यानाकर्षण

Breaking Nepal

बिहीबार ,असार २५ , २०८३ १३:१४

काठमाडौं– प्रतिनिधिसभा बैठकमा सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, मातृशिशु स्वास्थ्य, शान्ति सुरक्षा तथा स्थानीय पूर्वाधारसँग सम्बन्धित विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नितिमा भण्डारीले सर्लाहीको लालबन्दी नगरपालिका–९ बाट वडा नं. ७ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि बुधबार राति लुटपाटको उद्देश्यले तीन जनाको समूहले चार राउन्ड गोली प्रहार गरेको घटना उल्लेख गर्दै जिल्लामा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन गृह प्रशासनको ध्यानाकर्षण गराइन्।

नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलमले रौतहटको राजपुर नगरपालिकाअन्तर्गत हुलाकी राजमार्गस्थित पुलमुनि बिहीबार बिहान एक महिलाको शव फेला परेको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरे।

रास्वपाका शिवशङ्कर यादवले सिरहामा सुविधासम्पन्न बर्थिङ सेन्टरको अभावका कारण मातृशिशु मृत्युदर चुनौतीपूर्ण रहेको उल्लेख गर्दै धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ अस्पतालको बर्थिङ सेन्टर तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरे।

नेपाल कम्युनिष्ट पार्टीका रमेश मल्लले सल्यान अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा प्रभावित भइरहेको भन्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको बताए। उनले सर्वसुलभ विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारी प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेको टिप्पणी गरे।

त्यसैगरी, कांग्रेसका प्रकाशसिंह कार्कीले सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाको सीमास्थित लिखुखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाले स्थानीय समुदायसँग गरिएको सामाजिक उत्तरदायित्वसम्बन्धी प्रतिबद्धता पूरा नगरेको आरोप लगाए। उनले आयोजनाबाट प्रभावित स्थानीयको हित सुनिश्चित गर्न सरकारको प्रभावकारी हस्तक्षेप आवश्यक रहेको बताए।