Breaking Nepal

विराटनगर / माहेश्वरी महिला मञ्च विराटनगरले सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगर महानगरपालिका–७ स्थित सत्यनारायण आधारभूत विद्यालय परिसरमा सरस्वती माताको मन्दिर निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
नवनिर्मित मन्दिरको बिहीबार वैदिक विधिअनुसार पूजा–आराधनासहित उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा मञ्चका अध्यक्ष ललिता जाजुसहित वर्तमान तथा पूर्व पदाधिकारी, उद्योगी, समाजसेवी र विद्यालय परिवारको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ललिता जाजुले आफ्नो कार्यकालमा शैक्षिक संस्थामा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको संरचना निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उक्त मन्दिर निर्माणसँगै आफ्नो सपना साकार भएको बताइन् ।
उनका अनुसार विद्यालय तहबाटै विद्यार्थीलाई धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक मूल्यबोध गराउनुका साथै ऐतिहासिक मठ–मन्दिरको संरक्षण र सम्पदाप्रति सकारात्मक सोच विकास गराउने उद्देश्यले मन्दिर निर्माण गरिएको हो ।
उद्घाटन कार्यक्रममा उद्योगी तथा समाजसेवी बेनिगोपाल मुन्दडा, आनन्द जाजु, आनन्द मारु, जुगलकिशोर राठी, महेश सोनी, अनिता सोनी तथा विद्यालयकी प्रधानाध्यापक रेखा शर्मा पराजुलीलगायतको उपस्थिति रहेको थियो ।
सत्यनारायण आधारभूत विद्यालयमा हाल १६५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय परिसरमा निर्माण गरिएको सरस्वती मन्दिरले विद्यार्थीमा शिक्षा, संस्कार र सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।