Breaking Nepal

विराटनगर / सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ स्थापना दिवसका अवसरमा चार पत्रकारलाई विभिन्न विधाका पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।
सहकारीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुरस्कारदाता पक्षसँगको परामर्श तथा पुरस्कार छनोट समितिको सिफारिसका आधारमा यस वर्ष सम्मानित हुने पत्रकारहरूको नाम अनुमोदन गरेको हो ।
संस्थाका अध्यक्ष दीपक दाहालका अनुसार सहकारीले हरेक वर्ष असार २७ गते स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका सञ्चारकर्मीलाई सम्मान गर्दै आएको छ ।
यस वर्ष २१ हजार रुपैयाँ राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मकालु टेलिभिजनका संवाददाता पदम सरदारलाई प्रदान गरिने भएको छ । त्यसैगरी १० हजार रुपैयाँ राशिको दमीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार नेपाल टाइम्स अनलाइन टेलिभिजनकी पत्रकार रस्मिता उदासलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यस्तै, ५१ हजार रुपैयाँ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष तथा दर्शन दैनिकका सम्पादक शिवबहादुर कार्कीलाई प्रदान गरिने भएको छ । ५० हजार रुपैयाँ राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार भने रातोपाटी डटकमका विराटनगर संवाददाता अर्जुन आचार्यलाई प्रदान गरिने सहकारीले जनाएको छ ।
घोषित पुरस्कार तथा सम्मान आगामी शनिबार दिउँसो नेपाल पत्रकार महासंघ विराटनगरको सभाकक्षमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने कार्यक्रम छ ।
सहकारीले स्थापना दिवसका अवसरमा पत्रकारितामा दीर्घकालीन योगदान, श्रमजीवी पत्रकारिता, प्रेस स्वतन्त्रता, महिला पत्रकारिता तथा आर्थिक पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न विधामा पुरस्कार प्रदान गर्दै आएको छ ।
यसअघि सञ्चार श्रमजीवी पुरस्कारबाट रोहितकुमार लुइटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभयकुमार राई, देवनारायण साह, मोहम्मद सदरुल, तारा आचार्य, बाबुराम भण्डारी, सन्तोष सिग्देल, नवीनचन्द्र कर्ण र अनिल श्रेष्ठ सम्मानित भइसकेका छन् । महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई, बिनु तिम्सिना, ज्योति चौहान, उमा थापा, राजकुमारी तामाङ, एलिना दियाली, उषा सरदार, रञ्जीता पोखरेल, झुना भट्टराई र रुमा दाहाल ‘निशा’ सम्मानित भइसकेका छन् ।
त्यसैगरी तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मानबाट राजेन्द्र दाहाल, प्रमोद प्रधान, मोहन भण्डारी र सुवास ढकाल तथा ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट भीम चापागाईं, गजेन्द्र बुढाथोकी, अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, मोहन मानन्धर, नवराज कट्टेल, सुशीला पाठक र बन्धु पोखरेल सम्मानित भइसकेका छन् ।