आर्थिक वर्षको अन्त्यतिर खर्च केन्द्रित, २४ दिनमै ३० अर्बभन्दा बढी पुँजीगत खर्च

Breaking Nepal

बिहीबार ,असार २५ , २०८३ १३:४०

काठमाडौं– आर्थिक वर्षको अन्तिम महिना सुरु भएसँगै सरकारले फेरि परम्परागत ‘असारे खर्च’लाई तीव्र बनाएको छ। महालेखा नियन्त्रक कार्यालयको पछिल्लो तथ्यांकअनुसार असार १ देखि २४ गतेसम्म मात्रै सरकारले ३० अर्ब ५० करोड रुपैयाँभन्दा बढी पुँजीगत खर्च गरेको छ, जुन दैनिक औसत १ अर्ब २७ करोड रुपैयाँभन्दा बढी हो।

असार २४ गतेसम्म सरकारको कुल पुँजीगत खर्च १ खर्ब ६३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ पुगेको छ। जेठ मसान्तसम्म यो खर्च १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँमा सीमित थियो। यसअनुसार पछिल्ला २४ दिनमै पुँजीगत खर्च ३० अर्ब ५० करोड ५७ लाख रुपैयाँले बढेको देखिन्छ।

चालु आर्थिक वर्षभरको औसत दैनिक पुँजीगत खर्च ४५ करोड ७० लाख रुपैयाँ रहे पनि असार लागेपछि खर्चको गति झन्डै तीन गुणाले बढेको तथ्यांकले देखाएको छ। यसले आर्थिक वर्षको अन्त्यतिर खर्च केन्द्रित हुने पुरानै प्रवृत्ति अझै कायम रहेको संकेत गर्छ।

सरकारको कुल खर्च पनि असारमा उल्लेख्य रूपमा बढेको छ। असार २४ गतेसम्म कुल सरकारी खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ पुगेको छ। जेठ मसान्तसम्म यो १३ खर्ब ४६ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ थियो। अर्थात् पछिल्ला २४ दिनमै सरकारले थप १ खर्ब ८५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ।

यता, सरकारी आम्दानीमा पनि वृद्धि देखिएको छ। जेठ मसान्तसम्म ११ खर्ब १० अर्ब ४९ करोड ३८ लाख रुपैयाँ रहेको कुल आम्दानी असार २४ गतेसम्म बढेर ११ खर्ब ९१ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा मात्रै ८१ अर्ब ४ करोड ५ लाख रुपैयाँ आम्दानी थपिएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ।

राजस्व संकलनतर्फ सरकारले कर आम्दानीको वार्षिक लक्ष्यको ७९.३३ प्रतिशत हासिल गरेको छ भने वैदेशिक अनुदान सहायता प्राप्ति लक्ष्यको ५१.७३ प्रतिशत मात्रै प्राप्त भएको छ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो। आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा पुँजीगत खर्चको तीव्र वृद्धि दोहोरिनुले सार्वजनिक खर्च व्यवस्थापनको प्रभावकारितामाथि पुनः प्रश्न उठाएको छ।