Breaking Nepal

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज र आज राति देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहे पनि आगामी दिनमा नेपाल नजिकिने सम्भावना छ। यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। अहिले कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ। साथै, पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि छिटफुट वर्षाको अनुमान गरिएको छ।
यस्तै, मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकीका तराई क्षेत्र, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र, कर्णालीका केही पहाडी क्षेत्रमा पनि वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभाग तथा मधेश, लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।