मोरङको सीमाक्षेत्रबाट २० केजी गाँजा र ब्राउन सुगरसहित कार बरामद, चालक फरार

Breaking Nepal

pen
अनुज सापकोटा
शुक्रबार ,असार २६ , २०८३ १०:०९

विराटनगर / मोरङको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । भारततर्फ लैजान लागिएको आशंकामा एउटा कार नियन्त्रणमा लिँदा करिब २० केजी गाँजा र ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको हो ।

सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मधुमल्लाबाट खटिएको गस्ती टोलीले बिहीबार राति करिब ८ः५० बजे जहदा गाउँपालिका–१ नयाँबस्ती क्षेत्रमा शंकास्पद रूपमा भारततर्फ गइरहेको बा १२ च ७५५२ नम्बरको खरानी रङको हुन्डाई कार रोकेको थियो ।

प्रहरी टोलीलाई देख्नेबित्तिकै चालकले कार छाडेर फरार भएपछि सवारीसाधन नियन्त्रणमा लिई खानतलासी गरिएको थियो । जाँचका क्रममा कारको सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा करिब २० किलोग्राम गाँजा तथा ब्राउन सुगरजस्तो देखिने पहेँलो पदार्थ ६० वटा प्याकेट (करिब ६० ग्राम) बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद लागुऔषध र कार शुक्रबार बिहान करिब १ः४५ बजे आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङ लाई बुझाइएको छ ।

फरार चालकको खोजीका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।