६ वर्षदेखि फरार डाँका मुद्दाका दोषी सप्तरीबाट पक्राउ, कैद भुक्तानका लागि कारागार पठाइयो

Breaking Nepal

शुक्रबार ,असार २६ , २०८३ १०:०३

सप्तरी । डाँका मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयTदेखि फरार रहेका एक व्यक्तिलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फैसला कार्यान्वयन अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले ६ वर्ष कैद तथा ७२ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका फरार प्रतिवादी नारायण साह तेली उर्फ भूप नारायण साहलाई पक्राउ गरेको हो।

साविक टिकुलिया गाविस–२ (हाल खडक नगरपालिका–५) निवासी साहलाई खोजतलासका क्रममा पक्राउ गरी बिहीबार सप्तरी जिल्ला अदालत, राजविराजमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

अदालतको आदेशपछि दोषी साहलाई तोकिएको कैद सजाय भुक्तानका लागि कारागार कार्यालय राजविराज पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले अदालतबाट सजाय तोकिएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्ने अभियानलाई निरन्तरता दिइएको पनि जनाएको छ।