Breaking Nepal

काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम)ले पछिल्लो दुई दिनमा इरानका १७० भन्दा बढी सैन्य संरचनामाथि आक्रमण गरेको जनाएको छ। आक्रमण एयर डिफेन्स प्रणाली, ड्रोन भण्डारणस्थल तथा तटीय सैन्य अखडालाई लक्षित गरिएको अमेरिकी दाबी छ।
यसको प्रत्युत्तरमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडासहित ८५ स्थानमा मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गर्दै होर्मुज स्ट्रेटमा कुनै पनि हस्तक्षेप भए कडा जवाफ दिने चेतावनी दिएको छ।
इरानले अमेरिकी सैन्य कारबाही जारी रहे होर्मुज जलडमरूमध्यको अवस्था सामान्य नरहने र विश्व ऊर्जा आपूर्ति तथा अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्ने चेतावनी दिएको छ। यसैबीच उत्तरी इरानमा चीन र रुससँग जोडिएको रणनीतिक रेलमार्गको पुलमा पनि अमेरिकी क्रुज मिसाइल प्रहार भएको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको र अब नयाँ सम्झौताको सम्भावना नरहेको बताएका छन्। यद्यपि अमेरिकी अधिकारीहरूले प्राविधिक तहमा कूटनीतिक संवाद जारी रहेको जनाएका छन् भने कतार र पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेका छन्।
इरानी विदेशमन्त्री अब्बास अराघचीले धम्कीको वातावरणमा कुनै वार्ता सम्भव नरहेको स्पष्ट पार्दै अमेरिकाले विगतका प्रतिबद्धताको सम्मान गर्नुपर्ने बताएका छन्।
तनावकै बीच इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मशहदस्थित इमाम रजा दरगाहमा अन्त्येष्टि गरिएको छ। उता कतार, यूएई र जोर्डनले इरानी मिसाइल आक्रमणको निन्दा गर्दै क्षेत्रीय सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।