विराटनगरमा पक्राउ परेका ११ वर्षीय बालक हत्कडीसहित फरार, भारतबाट पुनः नियन्त्रणमा

Breaking Nepal

शुक्रबार ,असार २६ , २०८३ १७:२४

विराटनगर / मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट चोरीको आरोपमा पक्राउ परेका ११ वर्षीय एक बालक प्रहरी नियन्त्रणबाट फरार भएका छन् । हत्कडी लगाइएको अवस्थामा उनी प्रहरीको नियन्त्रणबाट उम्किएर भारततर्फ पुगेका थिए। खोजी अभियानपछि उनलाई भारतको इस्लामपुर क्षेत्रबाट पुनः नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट मटेरुवाले चोरीको आरोपमा बालकलाई नियन्त्रणमा लिएको केही समयमै उनी फरार भएको थियो । घटनापछि नेपाल र भारतीय सुरक्षा निकायबीच समन्वय गरी खोजी गरिएको र इस्लामपुर क्षेत्रबाट उनलाई पुनः नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

हाल बालकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको छ। घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय बासिन्दा राहुल चौधरीका अनुसार ती बालक आज आफ्नै घरबाट कराही लिएर भाग्ने क्रममा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा परेका थिए । चौधरीले यसअघि पनि आफ्नो निर्माणाधीन घरबाट फलामका छडलगायत निर्माण सामग्री हराएको दाबी गरेका छन् । साथै, बालकमाथि विगतमा आफ्नै घर तथा आसपासका अन्य घरहरूमा समेत चोरी गरेको आरोप लागेको उनको भनाइ छ ।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा बालकले केही वर्षदेखि चोरीमा संलग्न रहेको तथा लागूऔषध सेवन गर्ने गरेको बताएका छन् । यद्यपि, ती भनाइ तथा स्थानीयले लगाएका आरोपहरूको सत्यता अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको प्रहरीले स्पष्ट पारेको छ ।

प्रहरीले घटनाको सबै पक्षको अनुसन्धान गरिरहेको जनाएको छ। बालकको उमेरलाई दृष्टिगत गर्दै कानुनी प्रक्रिया बाल न्यायसम्बन्धी प्रचलित कानुनअनुसार अघि बढाइने बताइएको छ ।