Breaking Nepal

विराटनगर / विराटनगरस्थित कोशी अस्पतालले अस्पताल परिसरभित्र रहेका ऐतिहासिक, धार्मिक तथा सार्वजनिक महत्वका संरचना भत्काइने भन्ने चर्चा निराधार रहेको स्पष्ट पारेको छ । अस्पताल प्रशासनले शुक्रबार पत्रकार सम्मेलन गरी क्षयरोग अस्पतालको मुख्य भवन, ब्लड बैंक, गणेश मन्दिर तथा देवकोटा पुस्तकालयका भवन यथावत् रहने जनाएको हो ।
पछिल्ला दिनमा ती संरचना हटाइने विषयमा विभिन्न माध्यमबाट भ्रम फैलिएको भन्दै अस्पतालले त्यसमा कुनै सत्यता नरहेको दाबी गरेको छ । अस्पताल प्रशासनका अनुसार सेवा विस्तार र पूर्वाधार विकासका योजना अघि बढाइए पनि सार्वजनिक सरोकारसँग जोडिएका महत्वपूर्ण संरचनाको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।
यद्यपि अस्पताल परिसरभित्र रहेका केही अन्य संरचना भने विकास योजनाअनुसार व्यवस्थापन गरिने भएको छ । अस्पतालले कलश फार्मा रहेको भवन, क्षयरोग अस्पताल परिसरका सटर तथा ब्लड बैंकसँग जोडिएका सटर हटाउने तयारी भइरहेको अस्पतालका प्रशासन प्रमुख नवराज लुइँटेलले जानकारी दिए । ती संरचनाले दीर्घकालीन पूर्वाधार विस्तारमा अवरोध पुर्याइरहेको अस्पतालको भनाइ छ ।
उनका अनुसार अस्पतालको स्वामित्वमा रहेको जग्गाको संरक्षण, सेवा विस्तार तथा आधुनिक स्वास्थ्य पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर योजना अघि बढाइएको छ । यसअन्तर्गत अस्पताल परिसर वरिपरि कम्पाउन्ड पर्खाल निर्माण गरिनेछ, जसले सम्पत्तिको संरक्षणसँगै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्यअनुसार क्याथ ल्याबसहित अत्याधुनिक उपकरण जडानका लागि नयाँ भवन निर्माण आवश्यक रहेको अस्पतालले जनाएको छ । हाल उपलब्ध भौतिक संरचना र स्थान पर्याप्त नभएकाले प्रयोजनविहीन तथा विकासमा बाधक बनेका केही संरचना हटाएर नयाँ पूर्वाधार निर्माणको तयारी गरिएको अस्पतालको भनाइ छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चन्द्रभाल झाका अनुसार नयाँ पूर्वाधार निर्माणपछि मुटुरोगलगायत जटिल प्रकृतिका रोगको उपचार सेवा प्रदेशमै थप प्रभावकारी, आधुनिक र सहज रूपमा उपलब्ध गराउन सकिनेछ ।
अस्पताल प्रशासनले विकास निर्माणका क्रममा धार्मिक, सामाजिक तथा सार्वजनिक सरोकारसँग जोडिएका संरचनाको संरक्षणमा आफू प्रतिबद्ध रहेको दोहोर्याएको छ । स्थानीय समुदायको भावना, सार्वजनिक सम्पत्तिको महत्व तथा दीर्घकालीन स्वास्थ्य सेवा विस्तारको आवश्यकतालाई सन्तुलनमा राखेर निर्णय गरिएको अस्पतालको दाबी छ ।
कोशी अस्पतालले सेवा विस्तारका लागि आवश्यक पूर्वाधार व्यवस्थापनलाई विकास योजनाको अभिन्न हिस्सा भएको उल्लेख गर्दै क्षयरोग अस्पताल, ब्लड बैंक, गणेश मन्दिर र देवकोटा पुस्तकालयका भवन भत्काइने भन्ने भ्रममा विश्वास नगर्न सबै पक्षसँग आग्रह गरेको छ ।