बिराट क्यान्सर इन्स्टिच्युटमा नेपालको पहिलो अन्को–फिजियोथेरापिस्ट, क्यान्सर पुनर्स्थापनामा नयाँ सेवा

Breaking Nepal

शुक्रबार ,असार २६ , २०८३ १८:१७

विराटनगर / बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बीएमसीटीएच) अन्तर्गत सञ्चालित बिराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर उपचार सेवालाई थप प्रभावकारी बनाउन विशेषज्ञ टोली विस्तार गरेको छ । यसक्रममा नेपालकी पहिलो अन्को–फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ अस्पतालको फिजियोथेरापी विभागमा आबद्ध भएकी छन् ।

अस्पतालका अनुसार क्यान्सरका बिरामीमा शल्यक्रिया, कीमोथेरापी वा अन्य उपचारपछि देखिने शारीरिक कमजोरी, अंगहरूको चलायमान क्षमतामा कमी तथा दैनिक जीवनमा फर्किन कठिनाइ हुने समस्यालाई लक्षित गर्दै अन्को–फिजियोथेरापी सेवा सुरु गरिएको हो । यसअघि नेपालमा क्यान्सर बिरामीका लागि यस किसिमको विशेषज्ञ फिजियोथेरापी सेवा उपलब्ध नभएको अस्पतालको दाबी छ ।

श्रेष्ठले काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेस, धुलिखेलबाट ब्याचलर अफ फिजियोथेरापी (बीपीटी) अध्ययन गरेकी हुन् । त्यसपछि पाँच वर्ष विभिन्न प्रकृतिका बिरामीलाई फिजियोथेरापी सेवा प्रदान गरेपछि क्यान्सर पुनर्स्थापनाप्रति विशेषज्ञता हासिल गर्न भारतको कर्नाटकस्थित केएलई एकेडेमी अफ हायर एजुकेसन एन्ड रिसर्चबाट मास्टर अफ फिजियोथेरापी (एमपीटी–अन्कोलोजी फिजियोथेरापी) पूरा गरेकी छन् ।

अस्पतालका अनुसार श्रेष्ठले क्यान्सरका बिरामीमा शल्यक्रिया तथा कीमोथेरापीपछि आवश्यक पर्ने शारीरिक पुनर्स्थापना, मांसपेशीको शक्ति वृद्धि, हातखुट्टा तथा काँखलगायत अंगको चलायमान क्षमता सुधार र दैनिक गतिविधिमा सहज रूपमा फर्किन सहयोग पुग्ने वैज्ञानिक फिजियोथेरापी सेवा प्रदान गर्नेछिन् । व्यक्तिगत तथा समूहगत दुवै प्रकारका पुनर्स्थापना कार्यक्रममार्फत क्यान्सर सर्वाइभरको कार्यक्षमता र आत्मविश्वास अभिवृद्धिमा समेत सेवा केन्द्रित हुनेछ ।

श्रेष्ठले आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म क्यान्सर बिरामीलाई परामर्श तथा उपचार सेवा दिने अस्पतालले जनाएको छ ।

अस्पतालको फिजियोथेरापी विभागले सन् २०१६ देखि सेवा प्रदान गर्दै आएको छ। हाल विभागले दैनिक १०० भन्दा बढी बिरामीलाई सेवा दिन सक्ने क्षमता विकास गरिसकेको छ । विभागमा अर्थोपेडिक, स्पोर्ट्स, न्युरोलोजी, कार्डियो, बालरोग तथा स्त्रीरोगसम्बन्धी विशेषज्ञ टोली कार्यरत छन् ।

विभागमा टेन्स थेरापी, अल्ट्रासाउन्ड, लेजर थेरापी, गेट ट्रेनर, मिरर थेरापी तथा मल्टी–स्टेसन जिमलगायत आधुनिक उपकरणमार्फत सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार अन्को–फिजियोथेरापी सेवाको सुरुवातसँगै क्यान्सर बिरामीको उपचारपछि हुने शारीरिक पुनर्स्थापना, कार्यक्षमता वृद्धि तथा जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।