Breaking Nepal

इलाम / निरन्तरको वर्षासँगै गएको पहिरो र बाढीका कारण मेची राजमार्ग तथा झापासँग जोड्ने दुवै वैकल्पिक सडक अवरुद्ध भएपछि इलाम, पाँचथर र ताप्लेजुङको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। मुख्य र वैकल्पिक सबै मार्ग बन्द हुँदा यात्रु, बिरामी तथा मालवाहक ढुवानी प्रभावित बनेको छ भने अत्यावश्यक वस्तुको आपूर्तिमा समेत दबाब बढ्न थालेको छ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा पुरानै पहिरो थप धस्सिएर सडक बगेपछि उक्त खण्डबाट कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन हुन सकेको छैन।
उनका अनुसार गोदक–जोगमाई–तिल्केनी सडकको डाइभर्सनमाथिबाट बाढी बगेपछि यो वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, केचना–कञ्चनजंघा मार्गअन्तर्गत पुवाखोलाको डाइभर्सन डुबानमा परेपछि उक्त सडकसमेत बन्द भएको छ।
डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सडक खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाले मर्मत कार्य प्रभावित भएको बताए। उनका अनुसार जोगमाई र पुवाखोलामा बेलीब्रिज जडान गर्ने तयारी भए पनि भारतबाट आवश्यक सामग्री र प्राविधिक आउने समय टुंगो नलागेकाले तत्काल स्थायी समाधान हुने अवस्था छैन।
सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएपछि इलाममा मालवाहक सवारीसाधन प्रवेश गर्न नसकेको इलाम उद्योग वाणिज्य संघले जनाएको छ। संघका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)का अनुसार हालसम्म व्यवसायीहरूले साना सवारीसाधनमार्फत सीमित मात्रामा दैनिक उपभोग्य वस्तु ढुवानी गरिरहेका थिए। तर वैकल्पिक मार्गसमेत बन्द भएसँगै इन्धन, खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या आउने जोखिम बढेको छ।
मेची क्षेत्रको प्रमुख जीवनरेखा मानिने मेची राजमार्गको राजदुवाली खण्ड विगत तीन वर्षदेखि बर्खायाममा निरन्तर पहिरोको उच्च जोखिममा पर्दै आएको छ। करिब आधा किलोमिटर सडक खण्ड पटक–पटक धस्सिने समस्याले यस वर्ष पनि यातायात सञ्चालनमा गम्भीर अवरोध सिर्जना गरेको छ। पुवाखोला र कोल्बुङ क्षेत्रमा समेत पहिरोको जोखिम कायमै रहेकाले थप वर्षा भए आवागमन अझै लामो समय प्रभावित हुन सक्ने स्थानीयको आशंका छ।
सडक अवरुद्ध हुँदा यातायात व्यवसायीसमेत आर्थिक संकटमा परेका छन्। इलाम नगरपालिका–७ का सवारीचालक निङ्मा शेर्पाले प्रत्येक दिन सडक खुल्ने आशामा यात्रा सुरु गरे पनि वर्षा भएपछि पुनः यातायात बन्द हुने अवस्था दोहोरिएको बताए। उनका अनुसार गाडीको मासिक किस्ता, इन्धन खर्च र पारिवारिक दायित्व व्यवस्थापन गर्न कठिन बन्दै गएको छ।
लगातारको वर्षासँगै सडक पूर्वाधार कमजोर बन्दा पूर्वी पहाडी जिल्लाको आवागमन मात्र होइन, आपूर्ति प्रणाली, स्थानीय व्यापार र समग्र आर्थिक गतिविधिमै प्रत्यक्ष असर देखिन थालेको छ। मौसममा सुधार नआएसम्म यातायात सञ्चालन सहज हुने सम्भावना न्यून देखिएको सरोकारवाला निकायहरूले बताएका छन्।