Breaking Nepal

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापनका लागि १५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (छ)’ जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार ऋणपत्रको बोलकबोल सोमबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत मात्रै हुनेछ। सफल बोलदाता संस्थालाई सोही दिन ऋणपत्र निष्कासन गरिनेछ।
ऋणपत्रको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ। ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ भने सावाँ २०८४ असार २९ गते फिर्ता गरिनेछ। यस ऋणपत्रलाई राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। न्यूनतम ५ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँको गुणनफलमा कुल आह्वान गरिएको रकमसम्म बोल प्रस्ताव गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार यस ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। तर, वैधानिक तरलता अनुपात (एसएलआर) तथा खुद तरल सम्पत्ति अनुपात (एनएलए) गणनामा भने समावेश गर्न सकिनेछ।
बोलकबोलमा सफल भएका संस्थाको खाताबाट ऋणपत्र निष्कासनकै दिन रकम कट्टा गरिनेछ। खातामा पर्याप्त मौज्दात नहुँदा भुक्तानी हुन नसके सम्बन्धित बोल स्वतः रद्द हुने तथा बोल रकमको २.५० प्रतिशत जरिवाना लाग्ने राष्ट्र बैंकले जनाएको छ। साथै त्यस्ता संस्थालाई आगामी ६ महिनासम्म राष्ट्र बैंकले गर्ने कुनै पनि बोलकबोल प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।