Breaking Nepal

नयाँदिल्ली– भारतको महाराष्ट्र राज्यस्थित पुणेमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा भीषण दुर्घटना हुँदा नौ जना कामदारको मृत्यु भएको छ। लगातारको वर्षापछि ल्यान्डफिल (फोहोर विसर्जन स्थल) बाट हजारौँ टन फोहोर खस्दा प्रशासनिक भवन पुरिएको कम्पनीले जनाएको छ।
दुर्घटना गत बुधबार पुणेको बाहिरी क्षेत्रमा रहेको एन्टोनी वेस्ट फोहोर प्रशोधन केन्द्रमा भएको हो। घटनाका बेला भवनभित्र रहेका २३ जना कर्मचारीमध्ये नौ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १४ जनालाई सकुशल उद्धार गरिएको छ।
कम्पनीका अनुसार निरन्तरको वर्षाका कारण ल्यान्डफिल अस्थिर बनेपछि ठूलो परिमाणमा फोहोर खसेर भवनमा क्षति पुगेको थियो। उद्धार टोलीले प्रतिकूल मौसम र जोखिमपूर्ण अवस्थाका बीच उद्धार कार्य सञ्चालन गरेको जनाएको छ।
घटनापछि संरचनागत तथा सुरक्षासम्बन्धी परीक्षण पूरा नभएसम्मका लागि केन्द्रको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ।
भारतमा मनसुनका बेला भारी वर्षाका कारण यस्ता संरचनागत दुर्घटना बारम्बार हुने गरेका छन्। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण अतिवृष्टि लगायत चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ्दै गएको चेतावनी दिँदै आएका छन्।