भोलि बुधबारदेखि भरी सिलिण्डर ग्याँस वितरण हुँदै, मूल्य यथावत्

Breaking Nepal

मंगलबार ,असार ३० , २०८३ १९:५८

काठमाडौं / नेपाल आयल निगमले बुधबारदेखि देशभर १४.२ किलोग्राम तौलको भरी एलपी ग्यास सिलिण्डर बिक्री–वितरण गर्ने भएको छ । इण्डियन आयल कर्पोरेसनका बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङमा सुधार आएपछि साविककै परिमाणमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

मङ्गलबार जारी गरिएको विज्ञप्तिअनुसार पछिल्ला दिनमा आम उपभोक्ताबाट १४.२ केजी क्षमताको ग्यास सिलिण्डरको माग उल्लेख्य रूपमा बढेकाले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन यो निर्णय गरिएको हो ।

निगमका अनुसार बुधबारदेखि मुलुकभर वितरण हुने घरेलु एलपी ग्यास सिलिण्डरमा पूर्ण १४.२ किलोग्राम ग्यास भरिनेछ। यसको उपभोक्ता मूल्य भने यथावत् दुई हजार ६० रुपैयाँ कायम रहनेछ ।

निगमले ग्यासको आपूर्ति क्रमशः सहज बन्दै गएको जनाएको छ। आपूर्ति शृङ्खलामा सुधारसँगै बजारमा ग्यास वितरण नियमित हुने अपेक्षा गरिएको छ ।