Breaking Nepal

काठमाडौं / बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १५ जनालाई विभिन्न अवधिको कैद र जरिवानाको सजाय सुनाएको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सरकारी लिखत कीर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी अभियोगमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गरेको हो । यसअघि अदालतले उनीहरूलाई कसुरदार ठहर गरिसकेको थियो ।
अदालतले रायमाझीलाई सबै कसुरको एकीकृत सजायस्वरूप ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको छ । साथै विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय जोडिँदा उनलाई थप ६ महिना कैदसमेत हुने गरी कुल ११ वर्ष कैद सजाय निर्धारण गरिएको छ ।
रायमाझीलाई सरकारी लिखत कीर्तेमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, ठगीमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी लिखत कीर्तेमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, ठगीमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा संगठित अपराधमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । एकीकृत सजायस्वरूप उनलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरिएको छ भने थप ३ महिना कैदसमेत निर्धारण गरिएको छ ।
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पनि रायमाझीकै सरह एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनीमाथि ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोष स्थापित भएको अदालतले जनाएको छ ।
यसैगरी केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, गोविन्दकुमार चौधरी (विक्रम), आङटावा शेर्पालाई पनि कसुरको प्रकृतिअनुसार एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
पूर्व सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पनि ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिए पनि ७५ वर्षभन्दा बढी उमेर भएका कारण कानुनी व्यवस्थाअनुसार ७५ प्रतिशत कैद छुट दिइएको अदालतले जनाएको छ । छुटपछि उनको कैद अवधि ३ वर्ष २ महिना १० दिन कायम भएको छ। यसमध्ये उनले अधिकांश अवधि बिताइसकेकाले अब ९ महिना २० दिन मात्र कैद भुक्तान गर्न बाँकी रहेको उल्लेख गरिएको छ ।
भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई एकीकृत रूपमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
यस्तै नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई एकीकृत रूपमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाउँदै करोडौँ रुपैयाँ ठगी गरिएको आरोपमा यो मुद्दा दर्ता भएको थियो । लामो न्यायिक प्रक्रियापछि अदालतले प्रतिवादीहरूको संलग्नता, अपराधको प्रकृति र भूमिकाका आधारमा कैद तथा जरिवानाको सजाय निर्धारण गरेको हो ।