Breaking Nepal

विराटनगर / विराटनगर महानगरपालिकाका विभिन्न सात स्थानबाट मंगलबार (असार ३० गते) एकै दिन १९ वटा सर्पको जीवितै उद्धार गरिएको छ । महानगर प्रहरीका सहायक निरीक्षक शम्भु घिमिरेले घर तथा बस्तीमा प्रवेश गरेका सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर प्राकृतिक वासस्थानमा छाडेको जनाएका छन् ।
महानगर प्रहरीका सहायक निरीक्षक घिमिरेका अनुसार विराटनगर–१० भूमिसुधार चोक पूर्वस्थित कम्लेस अग्रवालको घरबाट सबैभन्दा धेरै १० वटा गोमन सर्प उद्धार गरिएको छ ।
त्यसैगरी विराटनगर–१८ कालाबञ्जारस्थित शम्भु यादवको घरबाट २ वटा गोमन, सोही वडाको खोक्सास्थित दिलीप मण्डलको घरबाट १ वटा गोमन, विराटनगर–३ कञ्चनबारी पूर्व राजवंशी टोलस्थित विदुर राजवंशीको घरबाट १ वटा करेत, विराटनगर–१४ बयरबन्ना टोलस्थित वसन्त यादवको घरबाट २ वटा धामन, विराटनगर–३ ढाट पूर्व मदननगर टोलस्थित गौरव निरौलाको घरबाट २ वटा धामन तथा विराटनगर–४ एयरपोर्ट मोड उत्तरस्थित हरिबहादुर घिमिरेको घरबाट १ वटा करेत सर्प उद्धार गरिएको हो ।
उद्धार गरिएका सबै सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर उपयुक्त प्राकृतिक वासस्थानमा छाडिएको सहायक निरीक्षक घिमिरेले जानकारी दिए । उनले घर वा बस्तीमा सर्प देखिएमा आफैं समात्ने प्रयास नगरी तत्काल महानगर प्रहरी वा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेका छन् ।
महानगर प्रहरीका सहायक निरीक्षक घिमिरेले यसअघि एकैदिन ११ वटा सर्पको उद्धार गरेका थिए । आफ्नै रेकर्ड तोड्दै मंगलबार एकैदिन १९ वटा सर्पको उद्धार गरेका छन् । ब्रेकिङ नेपाल न्यूजसित कुरा गर्दै घिघिरेले भने, ‘अहिले पनि पिचराबाट फोन आइरहेको छ । एउटै घरमा दुईवटा सर्प छन् रे, अब त्यता जान्छु । सायद १९ बाट बढेर २१ नाघ्ने निश्चित छ ।’
राति हिंड्दा टर्च बालेर मात्रै हिंड्न, धुल टाँगेर मात्रै सुत्न, छाडीमा जाँदा खाली खुट्टा नजान, यदि सर्पले डसेमा तत्कालै अस्पताल जान घिमिरे सुझाव दिन्छन् । सर्प उद्धारमा महत्वपूर्ण योगदान दिएको भन्दै महानगरपालिकाले घिमिरेको बढुवासहित सम्मानसमेत गरिसकेको छ ।