Breaking Nepal

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहँदा आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालका तराई क्षेत्र नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो र राति पहाडी तथा तराईका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।
विभागले भारी वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्न सक्ने, बाढी, पहिरो र भूक्षयको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, कृषि, सडक तथा हवाई यातायात, पर्यटन र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न विभागले अनुरोध गरेको छ।