झापामा मोटरसाइकलको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु, चालक पक्राउ

Breaking Nepal

बुधबार ,असार ३१ , २०८३ ०७:३५

झापा – झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।

मंगलबार अपराह्न मेचीनगर नगरपालिका–४ आमडाँगीस्थित भित्री पक्की सडकमा प्रदेश १–०१–०१७ प १८४१ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका हरि बुर्जा मगरका ६ वर्षीय छोरा सम्भव बुर्जा मगरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार बिहान उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा संलग्न मोटरसाइकलका चालक सप्तरीको राजविराज नगरपालिका–९ निवासी २७ वर्षीय सुधीरकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।