भानुजयन्तीमा मोरङका कवि वैरागी ‘आधुनिक साहित्य रत्न’ पदकबाट काठमाडौंमा विभूषित

Breaking Nepal

बुधबार ,असार ३१ , २०८३ ०८:१५

विराटनगर / आधुनिक साहित्य परिषद् काठमाडौंले २१३औँ भानुजयन्तीको अवसरमा साहित्यकार छवि वैरागी घिमिरेलाई ‘आधुनिक साहित्य रत्न’ पदक प्रदान गर्दै सम्मान गरेको छ ।

परिषद्को नियमित मासिक साहित्यिक कार्यक्रमसँगै आयोजित विशेष समारोहमा घिमिरेलाई नेपाली भाषा, साहित्य र सिर्जनामा पुर्‍याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष मुरलीप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपाल प्रमुख अतिथि तथा अनुसन्धानकर्ता एवं साहित्यकार लोकमणि उपाध्याय विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा साहित्यकार चन्द्रा न्यौपाने, शीत काव्य समाज नेपालका केन्द्रीय अध्यक्ष ईश्वरकृष्णबहादुर केसी (शीत), आगो विधाका परिकल्पनाकार दीर्घबहादुर चन्द, उतार विधाका टङ्कबहादुर खत्री, गोङ्गबु साहित्य समाजका अध्यक्ष द्वारिका कुइँकेल, षड्ऋतु काव्य समाजकी अध्यक्ष डा. सीता विष्ट कार्कीलगायत विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि तथा स्रष्टाको उपस्थिति रहेको थियो ।

समारोहमा साहित्यकार तथा कलाकार पार्वती रिमालको जन्मदिनसमेत मनाइएको थियो । कार्यक्रममा सुखशान्ति मिडियाका प्रबन्धक दामोदर ढकालले अतिथि तथा सहभागीलाई स्वागत गरेका थिए ।

सम्मानित स्रष्टा घिमिरेका कृतिमाथि सरस्वती अर्याल, उमा विडारी र कृष्णप्रसाद पौडेलले समीक्षा प्रस्तुत गरेका थिए। त्यसैगरी लोकमणि उपाध्यायले घिमिरेको व्यक्तित्व र कृतित्वसँगै राम र रामायण–अयोध्या विषयमा विचार राखेका थिए ।

प्रमुख अतिथि डा. नेपालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा र साहित्यका अमर स्रष्टा भएको उल्लेख गर्दै स्रष्टा आफ्ना कृतिमार्फत सधैँ जीवित रहने बताए। उनले छवि वैरागी घिमिरेलाई ‘आधुनिक साहित्य रत्न’ पदक प्रदान गर्ने परिषद्को निर्णय साहित्यप्रतिको सम्मानको उदाहरण भएको धारणा राखे ।

अध्यक्ष ढकालले भानुजयन्तीको अवसरमा घिमिरेलाई सम्मान गर्न पाउँदा संस्था गौरवान्वित भएको उल्लेख गर्दै साहित्यिक सिर्जनाको सम्मान र प्रवर्द्धनमा परिषद् निरन्तर सक्रिय रहने बताए। उनले कार्यक्रममा सहभागी सम्पूर्ण साहित्यकार तथा स्रष्टाप्रति आभार पनि व्यक्त गरे ।

चार घण्टासम्म चलेको कार्यक्रममा चेवन बस्नेत, नीलनाथ आचार्य, वेदप्रसाद गौडेल, कमला थापा, वासुदेव ठकुरी, शिवप्रसाद आचार्य, रोजिना गौतम, कमला भण्डारी, कमला देवी सिंखडा, कल्पना काफ्ले, बच्चुराम बजगाईं, सीमा खड्का, राधिका अधिकारी, भोजभक्त कँडेल, मिना पुडासैनी, मदन नेपाल, बद्री उप्रेती, सपना देवकोटा, गणेशबाबु अधिकारी, सुषिला ढकाल अधिकारी, गीता अर्याल, राजु देवकोटा, केदारनाथ देवकोटा, राजनप्रसाद रिमाल, टपेन्द्र केसी, केशव ज्ञवाली, ज्ञानेन्द्रकुमारी भण्डारी, जमुना गौतम, किरण बस्नेत, ज्योति बामदेव ओझा, सीता सुवेदी, महेन्द्रबहादुर थापा मगर, रोदकुमारी थापा मगर, रेखा महर्जन बस्नेत, रामकृष्ण रिजाल, सत्यनारायण ढकाल, राजेन्द्र गड्तौला र केवी पौडेललगायतका स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रमको सञ्चालन ध्रुव गजुरेलले गरेका थिए ।